Main News

मन्त्रिपरिषद् विस्तारको तयारी, अलमलमा रास्वपा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १५ गते २१:०१
मन्त्रिपरिषद् विस्तारको तयारी, अलमलमा रास्वपा (भिडियो रिपोर्टसहित)

१५ चैत २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु सरकारमा जाने मनस्थितिमा छन् । बालुवाटार हुने सत्तागठबन्धनको बैठकमा सहभागी नभएको रास्वपाले सरकारमा जाने विषयमा भने आधिकारिक निर्णय गरिसकेको छैन । बरु वैशाख १० मा हुने उपनिर्वाचनपछि जाने वा अघि जाने भन्ने विषयमा द्विविधामाछ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सत्तापक्षको कित्तामा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने नजाने विषय अहिलेसम्म टुंगो लगाउन सकेको छैन । तर पार्टीका सांसदहरु भने सरकारमा जान तयार रहेको बताउँदै आएका छन् ।

उनीहरुले सम्मानजनक मन्त्रालय पाएको अवस्थामा सरकारमा जान कुनै समस्या नरहेको बताउँछन् । यसअघिको सरकारमा जुन हैसियत प्राप्त थियो, सोही हैसियतमा अहिले मन्त्रालय पाए सरकारमा जाने रास्वपाका सांसद बताउँछन् ।

एमाले सहितको सरकारमा रास्वपाले उपप्रधान, गृह मन्त्रालय सहित ३ मन्त्रालय पाएको थियो । अहिले भने रास्वपाका कतिपय सांसद गृहमन्त्रालयको बटम लाइनमा छैनन् । सभापति रवि लामिछानेको नागरिकता प्रकरणबाट गुमेको गृहमन्त्रालयलाई नै अस्तित्वको विषय बनाएर रास्वपा यसअघि सरकारबाट बाहिरिएको थियो ।

अहिले गृह नभए अरु महत्वपूर्ण मन्त्रालय पाए जाने मनस्थितिमा सांसद रहे पनि पार्टी नेतृत्व अलमलमा हुँदा निर्णय हुन सकेको छैन ।

गठबन्धन मन्त्रिपरिषद् विस्तारको तयारीमा रहँदा रास्वपा चाँहि किन अलमलमा त ? भन्ने जिज्ञासा समाधानका लागि हामीले प्रवक्ता मुकुल ढकाललाई सम्पर्क गर्दा आफू व्यस्त रहेकाले अन्य जिम्मेवार नेतालाई सोध्न आग्रह गर्नु भयो । पार्टीका केन्द्रीय सदस्य दिपक बोहोराले पनि आफू राजधानी बाहिर रहेकोले यस बिषयका कुरा गर्न असमर्थ रहेको बताउनुभयो ।

सांसदहरुले अहिले नै सरकारमा जाने चाहना प्रकट गरिरहँदा पार्टीले आधिकारिक निर्णय सार्वजनिक गर्न नसक्नुको पछाडि पार्टी सभापति लामिछाने नै नेतृत्व लिएर सरकारमा जान चाहानु रहेको बताइन्छ । तर गैर सांसद भएका कारण गठबन्धनका दलहरु उपनिर्वाचन अघि लामिछानेलाई मन्त्री बनाउन तयार नभएका कारण उपनिर्वाचन अघि रास्वपा सरकारमा सहभागी हुने संभावना न्यून देखिन्छ ।

१९ सांसद भएको रास्वपा गठबन्धनको तेस्रो ठूलो दल हो । तेस्रो ठूलो दलको हैसियतमा शक्तिको बाँडफाट हुनुपर्ने उसको स्वभाविक चाहना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *