Main News

मिटरब्याजलाई अपराध घोषणा गरेर कानुनी कारबाही गर्ने सरकारको निर्णय

हिमालय टिभी
२०७९ चैत १४ गते १७:१३
मिटरब्याजलाई अपराध घोषणा गरेर कानुनी कारबाही गर्ने सरकारको निर्णय

१४ चैत २०७९ काठमाडौं । सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी कानूनमा दण्डरसजायको व्यवस्था गर्ने निर्णय गरेको हो । यसअघि सरकारले न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुसँग वार्ता गर्न समिति गठन गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गर्नु भएको हो ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।

प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरे पनि भेट भएको छैन । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर आइतवार काठमाडौं आएका मिटरब्याज पीडितहरुलाई बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो ।

त्यहाँ गृह मन्त्रालय सहसचिव केदारनाथ शर्माले पीडितहरुलाई भेटेर आन्दोलन स्थगित गर्न आग्रह गर्नु भएको थियो । पीडितहरुले भने प्रधानमन्त्रीसँग भेटेरै माग पूरा गर्न आग्रह गर्ने अडान राखेका थिए।

गत जेठ २८ देखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले असोज १ मा उनीहरुसंग सम्झौता गरेको थियो । त्यही सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि काठमाडौं आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *