Main News

राजधानी नजिकैको सिन्धुपाल्चोक, किन भयो बत्तीमुनिको अँध्यारो ? (भिडियो रिपोर्टसहित)

२०७९ चैत १४ गते १४:३०
राजधानी नजिकैको सिन्धुपाल्चोक, किन भयो बत्तीमुनिको अँध्यारो ? (भिडियो रिपोर्टसहित)

१४ चैत २०७९ सिन्धुपाल्चोक । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकै रहेको जिल्ला हो सिन्धुपालचोक । चीनसँग सडकमार्ग भएर जोड्ने महत्त्वपूर्ण व्यापारिक नाका तातोपानी पनि यसै जिल्लामा पर्दछ। यद्यपि यो जिल्ला बत्तीमुनिको अँध्यारो जस्तै भएको छ ।

यहाँ मुख्यगरी सडक पूर्वाधारको अभाव छ । सडक जीर्ण छन् र जोखिमपूर्ण छन् । नजिकै रहेको संघीय राजधानीसम्म पुग्न पनि जिल्लाबासीलाई टाउको दुखाइ बन्ने गरेको छ । यहाँबाट सांसद जित्नेहरु मन्त्रीदेखि सभामुखसम्म भएका छन् । तर जिल्ला जोड्ने र जिल्लाभित्रका सडक संरचना सुधार्न उल्लेख्य पहल गरेको देखिँदैन ।

यसै क्षेत्रबाट निर्वाचित सांसद मोहन बहादुर बस्नेत । उहाँ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का जनप्रतिनिधि । उहाँ इन्द्रावती गाउँपालिकामा मन्दिर उदघाटन गर्न आउनुभएको हो । तर खण्डहर बनेको सडकले पूर्वमन्त्रीज्यूको गाडी चिनेन ।

यहाँको सडक असहज मात्र होइन, कतिपय ठाउँमा सडक नै छैन । माननीय ज्युहरु भने विकासका आश्वासन दिन छोड्नु भएको छैन ।

काठमाडौंबाट जम्मा ६० किलोमिटरको दुरीमा छ सिन्धुपालचोक । तर विकट भूअवस्था र पूर्वाधार अभावले राजधानीबाट नजिक रहेर पनि टाढा छ । जोखिमपूर्ण सडकले काठमाडौं आवतजावत गर्न पनि सिन्धुपाल्चोकबासीलाई युद्ध जितेजस्तै हुने गर्छ ।

काठमाडौंबाट कागेश्वरी मनोहरा, साँखु, नाग्लेभारे, मेलम्ची हुँदै सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका पुग्ने नागरिकहरुले झण्डै ४ घण्टाको यात्रामा सास्ती खेप्ने गरेका छन् । वर्षायाममा गाडी चलाउनै सकस छ ।

सिन्धुपाल्चोकमा हेलम्बु राजमार्ग र मध्य पहाडी लोकमार्ग जोडिएको छ । तर ठाउँठाउँमा यी राजमार्ग पनि जीर्ण छन् । पश्चिमी भेगमा लाइफ लाइन नै मानिने सांखु फट्केश्वर सडक छ । यो सडक काठमाडौंको शंखरापुर नगरपालिकाको सांखु, नाङ्लेभारे हुँदै छाप भञ्ज्याङ्देखि सिन्धुपाल्चोकको सिमाना प्रारम्भ भै पुष्पलाल मध्य पहाडी लोकमार्गको बाहुनीपाटीमा गएर जोडिन्छ । यो मार्गमा पनि पुल नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्छ ।

सिन्धुपाल्चोकमा पर्यटन व्यवसायको प्रचुर सम्भावना छ । तर सडककै दूरावस्थाले यस क्षेत्रका सम्भावना छायाँमा छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका नेता शेरबहादुर तामाङले दुई पटक सांसद जित्नुभयो । मन्त्री पनि बन्नुभयो । हाल यही क्षेत्रबाट नेपाली कांग्रेसतर्फका मोहनबहादुर बस्नेत सांसद हुनुहुन्छ । उहाँ पनि पार्टीमा प्रभावशाली हुनुहुन्छ । तर जिल्ला जोड्ने सडकको दुर्गतिमा उहाँहरुले नजरअन्दाज गरिरहेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *