Main News

सकसपूर्ण १२ दिने पैदल यात्रा गरेर मिटरब्याज पीडित काठमाडौंमा (भिडियो रिपोर्टसहित)

२०७९ चैत १३ गते २१:४२
सकसपूर्ण १२ दिने पैदल यात्रा गरेर मिटरब्याज पीडित काठमाडौंमा (भिडियो रिपोर्टसहित)

१३ चैत २०७९ काठमाडौं । गत साउन २७ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा गृह मन्त्रालयका उच्च अधिकारीसहित प्रहरी अधिकारीको आकस्मिक बैठक बोलाउनुभयो।

कारण थियो–बर्खे झरीको कहरमा काठमाडौंको माइतीघरमा धर्ना बसेका मिटरब्याजी पीडित । लगत्तै कार्यदल बन्यो र सरकारले उनीहरुको माग सम्बोधनको आश्वासन पनि दियो । उनीहरु फर्किए, तर समस्या समाधान भएन । ८ महिनापछि फेरि पीडित माइतिघरकै सहारामा आइपुगेका छन्, दुधे बालक च्याप्दै, त्यो पनि पैदल १२ दिनको यात्रामा ।

मिटर ब्याजी साहुकारको चरम शोषण सहन नसकेपछि महोत्तरीका पीडितसँग दुई विकल्प थिए । पहिलो साहुको दास । दोस्रो विद्रोह । र विद्रोहको आवाज सुनिदिन्छ की भन्ने आशमा सरकार खोज्दै १२ दिन लामो पीडाको यात्रा छिचोल्न बाध्य भए उनीहरु । ऋणको बोझ बिसाउन र सरकारलाई सुनाउन राजधानी छिरेका उनीहरुको अब एक मुट्ठी श्वास मात्रै बाँकी छ । अरु त सबै दुस्ख मात्रै ।

काठमाडौं आएका ७२ जनाको समूहमा दूधे बालक च्यापेका आमाहरु समेत छन् । उस्तै ब्याजको भागेदार बन्न विवश बालकदेखि डाँडापारीको घाम तुल्य वयोवृद्ध पनि । ११ दिनसम्म उनीहरु राजधानी आउँदै गरेका समाचारहरु आइरहे । तर, न राज्यले देख्यो, न सुन्यो । तै पनि न्याय मर्दैन भन्ने आशा उनीहरुमा जिवितै छ र त्यही हुटहुटीले नांगो खुट्टै सही, काठमाडौंसम्मको पैदल यात्रा ।

मिटर व्याजी साहुका कारण पीडितले भोग्दै आएको पीडा सहिनसक्नु छ । चरणबद्ध आन्दोलनपछि गरिएको सम्झौता र आश्वासन सरकारले उधारै छाडेपछि उनीहरु फेरि सरकार खोज्दै आइपुगेका हुन् । ऋणको साँवा(ब्याजले रन्थनिएका उनीहरुलाई खुट्टाको दुःखाई भन्दा भोलिको उज्यालोको परिकल्पना छ ।

दुईपटक सरकारले दिएको आश्वासन बोकेर गाउँ फर्किएका पीडितहरु गैरकानुनी मिटर ब्याज बन्द गरेर जाली तमसुक च्यात्ने अन्तिम लडाइँका लागि काठमाडौं आएका हुन्। यसपाली उनीहरु आश्वासनको भाका लिएर फर्किने मनस्थितिमा छैनन्।

साहु, महाजनबाट त उनीहरु पटक पटक ठगिए । सरकारले समेत उधारो आश्वासमा ठगिरहेको छ । मिटरब्याजीलाई कारबाहीको आश्वासन दिएको सरकारले उजुरी मागेर थन्क्याएको छ।

जिल्ला प्रशासन कार्यालयहरुमा मिटरब्याजीमाथि उजुरीका चाङ छन् । तर कारबाहीको टुंगो छैन । र अब कानुनमै अबैध मिटरब्याजीलाई कारवाहीको प्रवन्ध नभएसङ्गम माइतिघरकै सहारा लिने प्रण पीडितको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *