Main News

धनगढीका स्वास्थ्यकर्मीकाे तलब खाेइ ? (भिडियो रिपोर्टसहित)

२०७९ चैत १३ गते २१:२८
धनगढीका स्वास्थ्यकर्मीकाे तलब खाेइ ? (भिडियो रिपोर्टसहित)

१३ चैत २०७९ धनगढी । धनगढी उपमहानगरपालिकाले जनप्रतिनिधिको तलबमा मात्रै वार्षिक करिब साढे एक करोड रुपैयाँ खर्च गर्दछ । त्यसमाथि जनप्रतिनिधिले विभिन्न बैठक, भ्रमण र गोष्ठीमा पाउने भत्ता छुट्टै छ । तर, उपमहानगरपालिकाका ५४ जना स्वास्थ्यकर्मीले ६ महिनादेखिको पारिश्रमिक पाएका छैनन् ।

१६ जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि अन्य ३८ जना पनि खटिएका छन् । गत वर्ष सशर्त अनुदानबाट आएको रकम वितरण गरेपनि अहिले संघीय सरकारले बजेट नपठाएपछि १६ जनाको रकम रोकियो । तर दरबन्दी भन्दा बढी अन्य ३८ कर्मचारीलाई समेत उपमहानगरले तलब दिन सकेको छैन ।

उहाँ नन्दादेवी भण्डारी । फूलबारी स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ । ३० वर्षदेखि अनवरत रुपमा स्वास्थ्य चौकीमा विरामीको सेवा गर्दै आउनुभएकी उहाँ अहिले भने उपमहानगरको प्राङ्गणमा आउनुभएको छ । त्यो पनि ६ महिनादेखि नपाएको पारिश्रमिक माग्न ।

नन्दासहित ५४ जनाले ६ महिनादेखि तलब पाएका छैनन् । लामो समयदेखि पारिश्रमिक नपाएका कारण घरखर्च चलाउनै मुस्किल भएपछि अहिले स्वास्थ्यकर्मी उपमहानगरपालिका कार्यालयको प्राङ्गणमा धर्नामा छन् । पाखुरामा कालो पट्टी बाँधेर पारिश्रमिक मागिरहेका छन् ।

सरकारले उपमहानगरपालिकाका १६ जना कर्मचारीलाई सशर्त बजेटबाटै तलबभत्ता खुवाउँदै आएको थियो। यसबाहेक अन्य कर्मचारीलाई पनि स्वास्थ्य मन्त्रालयले तलब खुवाउने गरेको थियो ।

चालु आर्थिक वर्षमा नेपाल सरकारले दरबन्दीअनुसार १६ जना कर्मचारीको तलबभत्ताका लागि १ करोड १८ लाख जति बजेट आएको थियो। उक्त बजेट १६ जनासँगै अन्य ३८ जना कर्मचारीलाई गत असोजसम्म तलब भत्ता खुवाइयो । तर रकम सकिएपछि बाँकी मन्त्रालयलाई माग गर्दा अब स्थानीय सरकारले नै पारिश्रमिक दिनुपर्ने जवाफ आएपछि तलब रोकिन पुग्यो । कात्तिकदेखिको भुक्तानी बाँकी छ । उपमहानगर भने दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी नियुक्त भएका कारण समस्या आएको उल्टै गुनासो गर्छ ।

केन्द्र सरकारले दरबन्दी बाहेकका कर्मचारीको पारिश्रमिक व्यवस्थापन स्थानीय निकायले नै गर्नुपर्ने भनिरहेको छ भने स्थानीय सरकार आफूसँग श्रोत नभएका कारण तलव खुवाउन नसक्ने भनिरहेको छ । स्वास्थ्यकर्मीहरूको पारिश्रमिकको लागि मन्त्रालयमा मौखिक र लिखित रूपमा पत्राचार गरेको छ। तर पारिश्रमिक कसले दिने भन्ने अन्योल कायम रहँदा स्वास्थ्यकर्मी र सेवाग्रही समस्यामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *