Main News

कानून नसुधार्दा एसईई दिने विद्यार्थीलाई डेराकै सास्ती (भिडियो रिपोर्टसहित)

२०७९ चैत १३ गते २१:२३
कानून नसुधार्दा एसईई दिने विद्यार्थीलाई डेराकै सास्ती (भिडियो रिपोर्टसहित)

१३ चैत २०७९ काठमाडौं । चैत १७ गते सुरु हुने माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईईमा यसवर्ष झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् ।

आफूले पढेको विद्यालयभन्दा टाढा परीक्षा केन्द्र तोकिँदा विद्यार्थीलाई परिक्षासँगै व्यवस्थापनको समेत चिन्ता थपिएको छ । कम्तिमा १० दिनका लागि डेरा लिनुपर्ने र बन्दोबस्तीको समान जुटाउनु पर्दा विद्यार्थी र अभिभावक समेत तनावमा छन् ।

कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेसँगै एसईई अब फलामे ढोका रहेन । यसको पाठ्यक्रमदेखि सिकाइ पद्दतिलेसमेत एसईईको विगतको ओज र ओजन दुबै घटिसकेको छ ।

विद्यालय, विद्यार्थी र अभिभावकले एसईईबारे विगतमा जस्तो चिन्ता लिन छोडेका छन्, किनकी अब माध्यामिक शिक्षा भन्नु कक्षा १२ भएको छ । तर विद्यार्थीले परीक्षा दिनका लागि खेप्नुपर्ने सास्ती भने घटेको छैन । आफूले पढेको विद्यालयबाटै परिक्षा दिनबाट विद्यार्थीहरु बञ्चित छन् । टाढा टाढा राखिने परीक्षा केन्द्रका कारण थप शारीरिक र मानसिक तनाव झेल्नुपर्ने बाध्यता विद्यार्थीमा छ । कतिपयले परीक्षाका लागि डेरा नै लिएर बस्नुपर्छ ।

यसको पिरलोले अविभावकलाई पनि सताएको छ । स्तर, प्रणाली र नतिजाकै शैलीसमेत परिवर्तन हुँदा पनि विद्यार्थीले आफैले पढेको विद्यालयमा परीक्षा दिन नपाउने, टाढा(टाढा धाउनुपर्ने बाध्यता किन ?

राष्ट्रिय परीक्षा बोर्ड भने विद्यमान कानुनकै कारण विद्यार्थीलाई आफूले पढेको भन्दा अन्यत्र विद्यालयमा परिक्षा दिन लगाउनुपर्ने अवस्था रहेको तर्क गर्छ ।

माध्यामिक शिक्षा उत्तिर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी व्यवस्थामा आफ्नै विद्यालयका विद्यार्थी नपर्ने गरी परिक्षा केन्द्र निर्धारण गर्नुपर्ने उल्लेख छ ।

दृष्टिविहिन विद्यार्थीहरुले भने आफैंले पढेको विद्यालयबाटै परिक्षा दिने व्यवस्था मिलाइएको छ । आफूले पढेको भन्दा अन्य विद्यालयमा परिक्षा केन्द्र परेपनि घरबाट पायक पर्ने गरी व्यवस्था गरिएको र डेरामा बस्न नपर्ने दाबी बोर्डको छ ।

यस वर्षको एसईईमा छात्र २ लाख ४२ हजार ६ सय ६२ र छात्रा २ लाख ४२ हजार ७ सय ५ गरी ४ लाख ८५ हजार ३ सय ६७ जना परिक्षार्थी सहभागी हुँदैछन् । २ हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् ।

जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ भने जहाँ १४ जना विद्यार्थीले परिक्षा दिनेछन् । त्यस्तै ५५ जना दृष्टिविहिन परिक्षार्थीले आफैंले पढेको विद्यालयबाटै एसईईमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *