Main News

यस्तो छ नेपालमा नाट्य क्षेत्रको अवस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १३ गते २१:१८
यस्तो छ नेपालमा नाट्य क्षेत्रको अवस्था (भिडियो रिपोर्टसहित)

१३ चैत २०७९ काठमाडौं । पछिल्लो दशक चलायमान हुन थालेको रंगमञ्च महाभूकम्प र कोरोनाको कहरमा परेर झण्डै तीन वर्ष थला पर्‍यो। अनेकौं समस्याका बाबजुद अहिले फेरि जुर्मुराउन खोज्दै छ।

आर्थिकरुपमा सबल नभए पनि तीन वर्षको रिक्ततापछि नाटकघरमा दर्शक नफर्किएलान् कि भन्ने चिन्ता चाहिँ दूर भएको छ। नाटकले दर्शक पाउन थालेका छन्। जसले कलाकारलाई पनि हौस्याएको छ।

नाटकलाई हेर्ने दृष्टिकोण आएको परिवर्तनसँगै रंगमञ्चका गतिविधि बढेका छन्। विश्व रंगमञ्च दिवसका अवसरमा सहकर्मी समिर जोशीले तयार पारेको सामग्री अबको क्रममा।

शिल्पी थिएटरमा फागुन १७ देखि एकमहिना नाटक ‘विमोक्ष’ र मण्डला थिएटरमा चैत १० यता एकै महिनाका लागि ‘एउटा सपनाको अवसान’ प्रदर्शन भइरहेको छ। दुबै नाटकले मनग्य दर्शक र प्रशंसा पाइरहेका छन्।

जमाना त्यस्तो पनि थियो, नाटकका दर्शक राजामहाराजा मात्र हुन्थे। र, नाटकघरमा चाहिँ नगन्य दर्शक। कलाकारको अभिनयको भोक मेट्ने माध्यमभन्दा फराकिलो बन्न सकेको थिएन, रंगमञ्च ।

उम्दा अभिनय र रित्तो गोजी नाट्यकर्मीको नियतिजस्तै थियो। भलै अहिले पनि अवस्थामा त धेरै सुधार भइसकेको त छैन । तर, आशा गर्ने ठाउँ बन्दै छ। सबैभन्दा ठूला परिवर्तन, रंगमञ्च व्यावसायिक बन्दै गर्दा दर्शक नाटकका लागि समय र पैसा छुट्याउन थालेका छन्।

काठमाडौं उपत्यकामा सञ्चालित १० वटा नाटकघरले पूर्वाधार र प्रस्तुतिमा राम्रै लगानी गरिरहेका छन्। तिनले नियमितजसो नाटक मञ्चन गर्छन। नाटक सिकाउँछन्। थिएटरबाट उदाएका कलाकारले चलचित्रमा पनि राज गर्दा नाटक सिकाईको आकर्षण पनि बढ्दो छ। ऐतिहासिकसहित पछिल्ला चर्चित कृति नाट्यरुपमा प्रस्तुत गर्दा दर्शकको रुची पनि बढिरहेको छ।

काठमाडौंका सर्वनाम, थिएटर मल, मण्डला, शिल्पी, कौसीलगायत समूह सक्रिय छन् भने पोखरामा ‘गन्धर्व’, विराटनगरमा ‘गुरुकुल’ र ‘झोराहट’, काँकडाभिट्टामा ‘परिवर्तन’ तथा दमकमा ‘कदम थिएटर’ले नाट्य गतिविधि गरिरहेका छन्। युवापुस्ताका रंगकर्मीको सक्रियताले दर्शक नाटकलाई विश्वास गर्ने ठाउँमा पुगेका छन्।

संभावनाको आकार बढ्दै जाँदा पनि नयाँ नाटक नलेखिनु चाहिँ रंगमञ्चको कमजोर पक्ष हो। अहिले प्रदर्शनमा आइरहेका अधिकांश नाटक या त अनुवाद हुन् वा उपन्यासमा आधारित। पुरानै नाटक दोहोर्‍याएर प्रदर्शन गर्नुपर्ने बाध्यता पनि छ। एकातिर नाटकको अभाव छ भने अर्कातिर राम्रै नाटकको पनि प्रचार नहुँदा अझैं नाटकघरसम्म दर्शकलाई डोर्‍याउन कठिन छ।

कलाको अन्यभन्दा नाटक लेखन मात्र होइन निर्देशन, अभिनय र मञ्चन अति नै गाह्रो विधा हो। त्यसैले सामान्य हुडहुटी मात्रै हुने व्यक्तिले नाट्य साधना गर्न सक्दैन। पछिल्लो समय साधनामा लिप्त विशेषतः युवा पुस्ताले नाटकको पुनःजागरणमा उत्कृष्ठ योगदान दिएका छन्। तर, तिनलाई राज्यले कदर र प्रोत्साहित गर्न भने सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *