कांग्रेस उपसभापति एवं सांसद खड्काले संसदमा किन मागे माफी ?

१२ चैत २०७९ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उल्लंघन गरेको स्वीकार गर्दै माफी माग्नु भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँडन कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिएपनि सत्तापक्षका माननीयबाट त्यसको उल्लंघन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी माग्नु भएको हो ।
एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भिर विषय भएको भन्दै भन्नु भयो, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलिका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटकपटक मर्यादा विपरित काम भईरहेको छ । हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँडन कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन ।’
त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराउनु भएको थियो । सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भन्नुभयो, ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भएअनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’
प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेका सदस्यको बीचबाट हिँडन कुनै पनि सदस्यलाई अनुमति नहुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया