राजनीति

गण्डकी प्रदेश : एमाले आउट, कांग्रेस इन (भिडियो रिपोर्टसहित)

२०७९ चैत ११ गते १६:३६
गण्डकी प्रदेश : एमाले आउट, कांग्रेस इन (भिडियो रिपोर्टसहित)

११ चैत २०७९ काठमाडौं । मंसिर ४ को आम निर्वाचनपछि बनेका प्रदेश सरकार तीन महिना नपुग्दै परिवर्तन हुन सुरु भएको छ । जसको सुरुवात गण्डकी प्रदेशबाट भएको छ । शुक्रबार एमालेले नेतृत्व गरेको गण्डकीमा माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ । त्यहाँ कांग्रेसले सरकार बनाउने सहमति गठबन्धनमा भएको छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सरकारबाट अलग हुन निर्देशन दिएसँगै माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गर्यो ।

त्यससँगै माओवादी केन्द्रका मन्त्रीहरुले पदबाट राजीनामा दिए र सरकारलाई दिएको समर्थन फिर्ता लिए । समर्थन समेत फिर्ता लिएसँगै अब खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । केन्द्रबाट आएको निर्देशन अनुसार सरकारबाट बाहिरिएको माओवादीले निर्णय सुनाए ।

अब ३० दिनभित्र मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्नेछ । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । अहिलेको अवस्थामा गठबन्धनलाई सहज बहुमत छ । माओवादी र कांग्रेस मिल्दा सरकार बन्छ । सभामुखसहित माओवादीका ८ र कांग्रेसका २७ जना सांसद छन् ।

प्रदेशको सबैभन्दा ठूलो दल भएको हैसियतमा मुख्यमन्त्री आफुले पाउनुपर्ने गरी लबिङ गर्दै आएको कांग्रेसलाई गठबन्धनबाट ढाडस पनि मिलेको छ । गोरखाबाट प्रतिनिधिसभाको उम्मेदवार बन्दै गर्दा चितवन छोडेर गोरखा पुगेका प्रचण्डले कांग्रेसका सुरेन्द्र पाण्डेलाई चुनाव ताका नै मुख्यमन्त्री बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही कारण पाण्डेले आफुलाई दाबेदार मान्नुभएको छ ।

३३ सांसदको समर्थनमा पुस २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीले विश्वासको मत नपाएसँगै संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले मुख्यमन्त्री पाउनेछ । तत्काल कांग्रेसले सरकारको नेतृत्व गरेपनि आलोपालो हुनुपर्ने माओवादीले माग राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्