Main News

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, यस्ता छन कारण

हिमालय टिभी
२०७९ चैत ११ गते १२:५६
मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, यस्ता छन कारण

११ चैत २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिएको पाँच दिन बितिसक्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

गत सोमबार प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले हिजोसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने दावी गर्नुभएको थियो । तर गठबन्धनका शीर्ष नेताहरुबीच पटकपटक छलफल भए पनि मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति हुन सकेको छैन ।

मन्त्रिपरिषद्ले पूर्णता पाउन अझैँ एक हप्ता लाग्न सक्ने नेताहरुले बताएका छन् । ठूला दलहरूले महत्त्वपूर्ण मन्त्रालय र साना दलले धेरै मन्त्रालयमा दाबी गरेकाले कुरा मिल्न नसकेको बताइन्छ । राष्ट्रपति निर्वाचन पछि फेरिएको समिकरण पछि एमाले र राप्रपाले सरकार छाडेपछि प्रधानमन्त्रीले फागुन १६ गतेदेखि १६ वटा मन्त्रालय सम्हाल्दै आउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाबाहेक सत्ता गठबन्धनमा रहेका सबै दल सरकारमा जाने तयारीमा छन् । केन्द्रमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रदेशमा एमालेले नेतृत्व गरेको सरकार संकटमा परेको छ ।

एमालेले सुदूरपश्चिम प्रदेशको नेतृत्व गुमाइसकेको छ । वाग्मती प्रदेश कांग्रेसको सहयोगमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएसंगै एमालेका मन्त्रीहरु बाहिरिएका छन् ।

गण्डकीमा माओवादी सरकारबाट बाहिरिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । लुम्बिनी प्रदेशमा पनि माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । कोशी प्रदेशमा भने माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *