Main News

गृहकै निर्देशन किन मान्दैनन् प्रहरी हाकिम ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १० गते २१:२३
गृहकै निर्देशन किन मान्दैनन् प्रहरी हाकिम ? (भिडियो रिपोर्टसहित)

१० चैत २०७९ काठमाडौं । गृहमन्त्रालयले गरेका निर्णय र निर्देशन तत्काल कार्यान्वय गर्ने निकाय हो, नेपाल प्रहरी । मन्त्रालयका निर्णय प्रभावकारी बनाउन प्रहरीको महत्वपूर्ण हात हुन्छ । तर प्रहरी संगठनकै उच्चअधिकारी गृहमन्त्रालयकै नियम मान्दैनन् ।

जथाभावी भेटघाट र प्रहरी संगठनमा राजनीतिक र कुटनीतिक हस्तक्षेप निम्त्याउन प्रहरी उच्चअधिकारीहरुकै लालायित हुन्छन् । गृहमन्त्रालयले भेटघाटको नीति बनाएपनि त्यसको पालना भएको पाइदैन । पछिल्लो समय प्रहरी महानिरीक्षकबाट बिदा हुँदै गरेका धिरजप्रताप सिंहले नै तोड्नुभएको पाइएको छ ।

गृहमन्त्रालयले गत पौष १४ मा जारी गरेको यो विज्ञप्ती हेर्नुहोस् । यो विज्ञप्तीमा स्पष्टसंग भनिएको छ – प्रहरी अधिकारीले कुनै कुटनीतिक नियोग, दलका नेतृत्वसंग भेटघाट गर्नु अघि स्पष्ट कारण सहित अनिवार्य स्वीकृति लिनु पर्ने छ। यो एउटा दृश्य हेर्नुहोस् । यहाँ विदा हुँदैगरेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास धुम्वाराही पुग्नुभयो ।

गृहमन्त्रालको निर्देशन अनुसार देउवालाई भेट्न पुग्नु अघि प्रहरी प्रमुख सिंहले गृहमन्त्रालयलाई लिखित जानकारी गराउनुपर्छ । भेट्नुको उद्देश्य खुलाएर मन्त्रालयमा जानकारी दिएपछि मन्त्रालयले आवश्यकता महशुस गरेमा भेटका लागि स्वीकृत प्रदान गर्न सक्छ ।

त्यसपछि मात्रै राजनीतिक घेटघाट गर्न पाउने व्यवस्था छ । त्यसो भए आफू प्रहरी संगठनको प्रमुखबाट सेवा निवृत्त हुनु अघि नेपाली कांग्रेसका सभापति देउवालाई भेट्नु अघि सिंहले लिखित जानकारी गराउनु भएको थियो त ?

अ हँ प्रहरी प्रमुख सिंहले लिखित रुपमा जानकारी गराएकोमा मन्त्रालय अनविज्ञता प्रकट गर्छ । अर्थात यसबारे गृहमन्त्रालयमा कुनै अभिलेख छैन । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत मन्त्रालयका सविचलाई मौखित जानकारी गराएको भए आफूलाई जानकारी नभएको तर सिंहले लिखित रुपमा भेटका लागि कुनै अनुरोध नगरेको बताउनुहुन्छ ।

प्रहरी संगठनकै प्रमुखबाट मन्त्रालयको निर्णयको अवज्ञा भैरहँदा उहाँ भन्दा तल्लो तहका प्रहरी अधिकारीहरुले विभागीय स्वीकृत लिएर मात्रै राजनीतिक र कुटनीतिक भेटघाट गरिरहेको छन् भनेर कसरी पत्याउने रु स्मरण रहोस्, प्रहरी बढुवा चलिरहेका बेला धेरै उच्चअधिकारीहरु नेताको दैलो धाएको फेहरिस्तै छ ।

भर्खरै महानिरीक्षक नियुक्त बसन्त कुँवर, एआइजीपीमा केही दिनअघि बढुवा भएका दीपक थापा लगायत धेरै उच्चअधिकारीहरु कहिले प्रधानमन्त्री प्रचण्डकोमा त कहिले शेरबहादुर देउवाकोमा धाएको खबरहरु छताछुल्लै भएका थिए । प्रहरी उच्चअधिकारीबाटै सुधारको काममा असहयोग गरेको यो दृष्टान्तले भोलिका दिनमा सुरक्षा निकायमा सुधार हुन्छ भन्ने कुरामा कसरी विश्वास गर्ने ? कम्तिमा आफू विदा हुँदै गर्दा प्रहरी प्रमुखबाट लिखित रुपमा जानकारी गराएर देउवा निवासमा गएको भए यस्ले सकारात्मक सन्देश दिन सक्थ्यो ।

भोलिका दिनमा संगठनमा रहेका र आउने प्रहरी अधिकृतहरुले पनि उहाँको सिको गर्दै नियमको पालना गरेर प्रहरी संगठनभित्र रहेका विकृत अन्त्यका लागि आफैंले प्रयास गर्न सक्थे । तर निवर्तमान भैसक्नु भएका प्रहरी प्रमुख सिंह यो सुधारको कामको कार्यान्व्यन सुरु गरेको जस लिनबाट चुक्नु भएको छ । आशा गरौं नयाँ आउने प्रहरी प्रमुखबाट सरकारले ल्याउने सुधारका काममा अग्रसरता लिनु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *