Main News

विदेश जाने क्रम बढ्दा जनसंख्या वृद्धिदर घट्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १० गते २१:१५
विदेश जाने क्रम बढ्दा जनसंख्या वृद्धिदर घट्यो (भिडियो रिपोर्टसहित)

१० चैत २०७९ काठमाडौं । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्यांक सार्वजनिक गरेको हो ।

२०६८ सालको जनसंख्याको तुलनामा २०७८ सालमा शून्य दशमलव ९२ प्रतिशतले मात्र बृद्धि भएकोछ । एकदशकअघि २०६८ सालमा १ दशमलव ३५ प्रतिशत बृद्धि भएको थियो । कस्तो छ, क्षेत्रगत जनसंख्याको तथ्यांक ?

नेपालमा हरेक १० वर्षमा जनगणना हुने गर्छ । २०७८ सालमा केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले शुक्रबार सार्वजनिक गरेको गणनाअनुसार नेपालमा २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या रहेको छ । २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । यसमा शून्य दशमलव ९२ प्रतिशतले मात्र वृद्धि भएको छ ।

२०७८ सालको राष्ट्रिय जनगणना
कुल जनसंख्या– २,९१,६४,५७८
महिलाको संख्या–१,४९,११,०२७ (५१.०२ प्रतिशत)
पुरुषको संख्या– १,४२,५३,५५१ (४८.९८ प्रतिशत)
अन्य लिङ्गी– २,९२८ (०.०१ प्रतिशत)

प्रदेश अनुसार जनसंख्या
बागमती प्रदेश– ६१,१६,८६६ (२०.९७ प्रतिशत)
मधेश प्रदेश– ६१,१४,६०० (२०.९७ प्रतिशत)
कोशी प्रदेश– ४९,६१,४१२ (१७.०१ प्रतिशत)
लुम्बिनी प्रदेश– ५१,२२,०७८ (१७.५६ प्रतिशत)
गण्डकी प्रदेश– २४,६६,४२७ (८.४६ प्रतिशत)
सुदूरपश्चिम प्रदेश–२६,९४,७८३ (९.२४ प्रतिशत)
कर्णाली प्रदेश– १६,८८,४१२ (५.७९ प्रतिशत)

७७ जिल्लामध्ये काठमाडौं जिल्लाको जनसंख्या सर्वाधिक २० लाख ४१ हजार ५ सय ८७ पुगेको छ । त्यसपछि मोरङ, रुपन्देही, झापा र सुनसरी रहेका छन् । सबैभन्दा कम मनाङ जिल्लाको जनसंख्या ५ हजार ६ सय ५८ रहेको छ । कम जनसंख्या हुने जिल्लाको सूचीमा दोस्रो स्थानमा मुस्ताङ, तेस्रोमा डोल्पा, चौथोमा रसुवा र पाँचौमा हुम्लाको जनसंख्या रहेको छ । काठमाडौंको जनसंख्या वृद्धिदर १।५१ प्रतिशत हुँदा मनाङको जनसंख्या वृद्धिदर १।३९ प्रतिशत रहेको छ । क्षेत्रगतरुपमा सबैभन्दा बढी मानिसको बसाई तराइमा रहेको छ, २०६८ सालभन्दा २०७९ सालमा तराईमा बस्नेको संख्या थप बढेको छ ।

झापादेखि कञ्चनपुरसम्मको तराई बेल्टमा १ करोड ५६ लाख ३४ हजार ६ जना बसोबास गर्छ । यो कुल जनसंख्याको ५३ दशमलव ६१ प्रतिशत हो । २०६८ सालको जनगणनामा यो ५० दशमवल २७ प्रतिशत मात्र थियो । पहाडी जिल्लामा बसोबास गर्नेको संख्या २०६८ सालकोभन्दा घटेको छ । २०६८ मा ४३ दशमलव ०१ जनसंख्या घटेर अहिले ४० दशमलव ३१ प्रतिशत अर्थात १ करोड १७ लाख ५७ हजार ६२४ रहेको छ । हिमाली क्षेत्रको जनसंख्या पनि घटेको छ ।

हिमाली क्षेत्रमा १७ लाख ७२ हजार ९ सय ४८ संख्या रहेको छ । यो कुल जनसंख्याको ६ दशमलव ०८ प्रतिशत मात्र हो । कतिपयले नेपालको जनसंख्या वृद्धिदर कम हुनुमा ठूलो संख्यामा युवा विदेश पलायनलाई लिने गरेका छन् । २१ लाख ९० हजार ५९२ जना विदेशमा बस्ने गरेका छन् ।

उनीहरुले नेपालमा गर्भनिरोधक सामग्रीको प्रयोग बढेको नदेखिएकाले बच्चा जन्माउने समयमा श्रीमान्–श्रीमतीसँगै हुन नपाउनुलाई लिएका छन् । ढिलो विवाह गर्ने र प्रवृत्ति पनि बढेको र धेरै सन्तान पाल्ने अवस्थामा नरहेका कारण पनि जनसंख्याको बृद्धि कम भएको आंकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *