Main News

राजनीतिक खिचातानी : सात महिनादेखि निमित्त प्रधानाध्यापकको नेतृत्वमा विद्यालय (भिडियो रिपोर्टसहित)

२०७९ चैत ८ गते १८:२६
राजनीतिक खिचातानी : सात महिनादेखि निमित्त प्रधानाध्यापकको नेतृत्वमा विद्यालय (भिडियो रिपोर्टसहित)

८ चैत २०७९ बारा । बाराको निजगढस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सात महिनादेखि निमित्त प्रधानाध्यापकको नेतृत्वमा चलिरहेको छ ।

स्थानीय तहका राजनीतिक कार्यकर्ताको खिचातानीका कारण पदपूर्तिका लागि पठाइएको शिक्षिकालाई हाजिर गर्न दिइएको छैन । विद्यालयमा प्रधानाध्यापकसँगै तीन शिक्षकको पनि दरबन्दी पूर्ति नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा करिव सात सय विद्यार्थी पठनपाठन गर्छन् । २३ जना शिक्षक, कर्मचारी रहेको विद्यालयमा चार जना शिक्षकको पद खाली छ । तर पदपूर्तिका लागि सम्बन्धित निकायले कुनै पहल गरेको छैन ।

२०७९ मंसिर २७ गते जिल्ला शिक्षा समन्वय इकाई बाराको सिफारिसमा नगरपालिकाको शिक्षा शाखाबाट २०७९ पुस १७ गते खटाइएकी माध्यमिक तहकी शिक्षिका अम्बिका लुइटेललाई विद्यालय व्यवस्थापन समितिले हाजिर नगराएपछि विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा अन्योल छ ।

शिक्षा समन्वय इकाईको सिफारिसमा नगरपालिकाको शिक्षा शाखाले ६ महिना परीक्षणकाल रहने गरि विद्यालयमा हाजिर हुन पठाएको थियो । तर व्यवस्थापन समितिले शिक्षिका लुइटेललाई हाजिर गराउन मानेन ।

विद्यालयमा गणित र विज्ञान विषयको शिक्षक आवश्यक रहेको तर शिक्षिका लुइटेल अंग्रेजी विषयको भएको भन्दै समितिले हाजिर नगराएको विद्यालय व्यवस्थापन समितिको तर्क छ । यता नगरपालिकाका शिक्षा अधिकारीले भने एक दुई दिनमै पदस्थापना हुने दाबी गरिरहेको छ ।

व्यवस्थापन समिति र वडा अध्यक्षले रुचाएको व्यक्ति नपरेकाले लुइटेललाई हाजिर नगराईएको स्थानीयको आरोप छ । यस विषयमा वडा अध्यक्ष मंगल लोप्चन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर योञ्जनले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । विद्यालयमा यसअघि देखि नै शिक्षक पदपूर्ति गर्दा राजनीतिक दलले आफू निकटको व्यक्तिलाई र आर्थिक लेनदेनको आधारमा नियुक्ति गर्ने गरेको खुल्न आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *