Main News

समाजवादी केन्द्रको नारा के-का लागि ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ४ गते २१:०४
समाजवादी केन्द्रको नारा के-का लागि ? (भिडियो रिपोर्टसहित)

४ चैत २०७९ काठमाडौं । आफ्नो शक्ति सञ्चयका लागि हालको सत्ता घटकमध्येका प्रमुख तीन दल समाजवादी केन्द्र बनाउने प्रयासमा छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी कार्यगत एकतादेखि पार्टी एकतासम्मको अभियानमा जुटेको बताउँदै आएका छन् ।

यी दलसँग बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि जोडिने भएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी एकीकरणको चर्चा चलेको महिनौं भइसक्यो । कार्यदल नै बनाएर पटक पटक भएका छलफल कहाँ पुगे ? कहिलेसम्म बन्छ त समाजवादी केन्द्र ?

मंसिर ४ को निर्वाचनअघि पार्टी एकतासम्मको चर्चा चलाएका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच पुस १० गते फेरिएको समीकरणले प्रभाव पार्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बनेपछि समाजवादी केन्द्र बनाउने अभियान रोकियो । तर, राष्ट्रपति निर्वाचनपछि फेरिएको दलीय समीकरण पछि पुनः यी दलहरु एक ठाउँमा उभिने गरी मोर्चाबन्दीमा जुटेका छन् ।

सिद्धान्त र विचारले फरक–फरक यी दल कुन उद्देश्यका साथ अघि बढ्न चाहेका छन् त ? यहाँ सिद्धान्त र विचारभन्दा शक्ति सञ्चय नै प्रधान देखिएको छ । तर, तीनै दलका नेताहरु सिद्धान्त र विचार मिल्ने अवस्थामा मोर्चामा आवद्ध हुने बताउँछन् ।

माओवादी केन्द्र माक्सवाद, लेनिनवाद र माओवादलाई आधार मान्दै २१औँ शताब्दिको जनवाद भन्दै आएको छ, एकीकृत समाजवादी माक्सवाद, लेनिनवादलाई प्रधान मन्दै समाजवादीको अन्तिम विन्दूमा पुग्ने बताउँछ भने जनता समाजवादी पार्टी लोकतान्त्रि समाजवादको व्याख्या गर्छ ।

तुलनात्मकरुपमा फरक–फरक विचार बोकेका यी दलबीचको मोर्चाबन्दी वा एकता कतिसम्म टिक्न सक्ला रु राजनीतिक दलहरुमा सिद्धान्त र विचारभन्दा शक्ति आर्जन नै प्रमुख बन्ने गरेको छ ।

२०६४ सालपछि हरेक निर्वाचनमा कमजोर बन्दै गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय राजनीतिमा बलशाली बन्न तत्पर रहन्छन्, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी राष्ट्रिय राजनीतिक दल नै हुन नसकेपछि आफूलाई शक्तिमा राख्न मोर्चाबन्दीको सहारा लिन खोजेको देखिन्छ भने मधेसमा कमजोर बनेको जनता समाजवादी पार्टीपनि शक्तिकै दाउमा छ । तर, नेताहरु सार्वजनिक खपतका लागि अहिलेपनि सिद्धान्त र विचारकै कारण एक ठाउँमा उभिन खोजेको बताउँछन् ।

माओवादी, एकीकृत समाजवादी र जसपाबीच नीतिगत रुपमा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ । अहिले कुन आधारमा त्यस्तो केन्द्र बनाउने भन्नेबारे अवधारणापत्रको डाफ्ट भइसकेको र पार्टीभित्र छलफल भइरहेको छ । राजनीतिक सैद्धान्तिक विषयमा तयार अवधारणापत्र टुंगाएपछि पारित गर्ने र त्यसपछि समाजवादी मोर्चा बनाउने तयारी छ ।

उसो त माओवादी र एककिृत समाजवादी पार्टी एकताकै तयारीमा छन् । त्यसअघि नै एकीकृत समाजावादी र जसपा एकीकरण गर्दै संसदको चौंथो शक्ति बन्ने र राष्ट्रिय राजनीतिमा आफ्नो बार्गेनिङ बढाउने गृहकार्य पनिसँगै चलिरहेको छ । उता माओवादी केन्द्र प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा युद्धकालिन मुद्धा परेपछि माओवादी घटकहरुसँग संवादमा जुटेका छन् ।

एकताको अन्तिम तयारीमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा मिल्दा मुख्यगरी नेता व्यवस्थापननै चुनौति ठानिएको छ । अहिले माओवादी नेतृत्वकै गठबन्धनमा दुवै दल रहेको र मन्त्रिपरिषद्मा समेत उनीहरु सहभागी हुने पक्का भएकाले समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेपनि तत्कालै निष्कर्षमा पुग्ने विषय भने कम प्राथमिकतामा पर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *