बढ्दो बैंकिङ कसुर, प्रहरीमा उजुरी दिनेको भिड (भिडियो रिपोर्टसहित)
३ चैत २०७९ काठमाडौं । पछिल्लो समय बैंकिङ कसुरका अपराध बढेका छन् । प्रहरीको तथ्यांकमा पछिल्लो समय सबैभन्दा धेरै बढेर गएको अपराध नै बैंकिङ कसुर हो।
अहिले २० हजारदेखि ३ करोडसम्मका बाउन्स चेक बोकेर प्रहरीकहाँ आउनेको भिड लाग्ने गरेको छ । यो वर्षको सात महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै करिब ६ हजारवटा मुद्दा दर्ता भइसकेका छन् ।
काठमाडौंको पुरानो बसपार्कमा निर्माणधीन २१ तले भ्वुटावरका ठेकेदार मनोज भेटुवाल चेक बाउन्सको आरोपमा प्रहरी हिरासतमा छन् । करिब ३ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएपछि फागुन ११ गते प्रहरीले नियन्त्रणमा लिएको हो ।
फागुन १ मै ३ करोड ७५ लाख रुपैयाँको चेक बाउन्समा व्यवसायी सुमन बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यरोले ललितपुरबाट नियन्त्रणमा लियो ।
माघ ४ मा १ करोडको चेक बाउन्सको मुद्दामा प्रतिवादी रहेका एकराज दहाल पनि ब्यूरोको नियन्त्रणमा परे ।
यी बैंकिङ कसुर सम्बन्धी केही प्रतिनिधि घटना हुन् । देशभरका प्रहरी कार्यालयहरुमा बाउन्स चेक बोकेर पुग्नेको भिड नै लाग्ने गरेको छ । चालू आर्थिक वर्षको सात महिना माघसम्ममा प्रहरीमा ५ हजार ९४५ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । यो सात महिनाको संख्या गत एक वर्षको भन्दा धेरै हो । गत वर्ष ५ हजार ३८३ वटा मुद्दा दर्ता भएका थिए ।
पछिल्लो ६ मा कुन वर्ष कति मुद्दा दर्ता भए ?
आर्थिक वर्ष २०७३–०७४ मा ९३
२०७४–०७५ मा ७७६
२०७५–०७६ मा ३,१७६
२०७६–०७७ मा ३,३०९
२०७७–०७८ मा २,३७७
२०७८–०७९ मा ५,३८३
मुद्दा परेकामध्ये २ सय ३९ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। पछिल्लो समय आर्थिक संकट चुलिदै गएपछि अस्तव्यस्त व्यवसाय र कर्जाको अभावले मुद्दा बढाउन मदत गरेको अनुमान छ ।
प्रहरीको तथ्यांक अनुसार कोरोना महामारीको वर्ष आर्थिक वर्ष २०७५–०७६ देखि चेक बाउन्सको मुद्दा अत्यधिक बढेको देखिन्छ ।
प्रतिक्रिया