प्रधानमन्त्रीलाई भेटेर प्रदेश प्रमुखहरुले गरे यस्तो गुनासो
१ चैत २०७९ काठमाडौं । ६ वटा प्रदेशका प्रदेश प्रमुखहरुले संघीयताको प्रभावकारी कार्यान्वयनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशका कतिपय क्षेत्राधिकारमा संघ हावी भएको गुनासो बढिरहेकाबेला प्रदेश प्रमुखहरुले प्रधानमन्त्री प्रचण्डको संघीयताको प्रभावकारी कार्यान्वयनमा ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार वालुवाटार पुग्नुभएको थियो ।
जनभावना अनुसार ल्याइएको संघीयता जोगाउन प्रधानमन्त्रीले कदम चाल्नुपर्ने छलफलमा सहभागी प्रदेश प्रमुखको प्रस्ताव थियो । पछिल्लो समय प्रदेश संरचनाको आलोचना बढ्दै गएको छ । संघ र स्थानीय तहको बीचमा रहेको प्रदेश संरचनाले उल्लेख्य काम गर्न नसकेको आलोचना हुँदै आएको हो ।
प्रदेशले भने संघले अधिकार क्षेत्र मिचेको आरोप लगाउँदै आएको छ । कतिपय कानून समेत बन्न सकेको छैन । यस्तै प्रदेश प्रमुखहरुले आफ्नो मर्यादाक्रममा पनि गुनासो गरेका छन् । नेपालको मर्यादाक्रममा प्रदेश प्रमुख सातौं स्थानमा छन् भने आफ्नो प्रदेश बाहिर आठौं स्थानमा रहने गरेका छन् ।
प्रतिक्रिया