विद्यादेवी भण्डारी पूर्वपार्टीमा सक्रिय हुने सम्भावना !(भिडियो रिपोर्टसहित)
३० फागुन २०७९ काठमाडौं । दुई कार्यकाल गरी ७ वर्ष ४ महिनाको राष्ट्राध्यक्ष भूमिकापछि विद्यादेवी भण्डारी हिजो शीतलनिवासबाट बाहिरिइन। राष्ट्रपतिका हुँदा नै राजनीति गरेको गम्भीर आक्षेप खेप्नुभएकी भण्डारी फेरि दलीय गतिविधिमा फर्किन सक्ने चर्चा छ।
मदन भण्डारीको विरासतमा पूर्वराष्ट्रपतिको प्रोफाइल र एमालेमा केपी ओलीपछिको नेतृत्वको लागि हुन सक्ने खिचातानी हेर्दा भण्डारी पूर्वपार्टीमा फेरि सक्रिय हुने संभावना बढि नै देखिन्छ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेकै राजनीतिमा फर्केलिन भन्ने प्रश्नको उत्तर खोज्नुअघि अस्ती फागुन २८ गते शीतलनिवासमा भएको विदाई भेटमा शीर्ष नेताले उनलाई दिएको सुझाव सुनौं।
– ‘अब कार्यकारी अधिकारको अभ्यास गर्ने बाटोमा जाँदा राम्रो होला जस्तो लाग्छ। भोलि पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पनि यहाँले प्राप्त गर्न सक्नुहुन्छ नि।’– प्रधानमन्त्री पुष्पकमल दाहाल
– ‘म चाहिँ सक्रिय राजनीतिमा आउनुस् पनि भन्दिनँ, नआउनुस् पनि भन्दिन। उहाँलाई संविधानले छेकेको छैन । राजनीतिमा आउने निणर्य गर्नुभयो भने सबैभन्दा ठूलो सहयोग मेरो हुन्छ।’स् कांग्रेस सभापति शेरबहादुर देउवा
–मदन भण्डारी भन्नेवित्तिकै मनैदेखि सम्मानको भावना जागृत हुन्छ। उहाँको धर्मपत्नी भएको हिसाबले पनि राजनीतिमा आउँदा हाम्रो सहयोग नरहने कुरै छैन।’स् जसपा अध्यक्ष उपेन्द्र यादव
२८ गते साँझको शीतल संवादमा नेताहरुले राजनीतिमा फर्किन प्रोत्साहित गरेपनि भण्डारीले आफ्नो योजना भने भनिनन्।
शीतलनिवासबाट बाहिरिएपछि भण्डारीले अब के गर्लिन् भन्नेमा चासो छ। भण्डारीले अब पूर्वराष्ट्रपति रामवरण यादवजस्तो निस्क्रिय बस्ने, गैर(राजनीतिक गतिविधिमा सक्रिय हुने वा राजनीतिमै फर्किने भन्ने निणर्य गर्नुपर्नेछ। यि तिनै विकल्पबारे उनले हतारमा मुख खोलिहाल्ने संभावना देख्दैनन् शीतलनिवासमा रहँदाका सल्लाहकार पनि।
मदन भण्डारीको धर्मपत्नी हुनुको विरासत, राष्ट्रपति भएपछि स्वतः बढेको प्रतिष्ठा, शक्ति अभ्यासको चाहना र अनुकूल उमेरजस्ता कारणले उनी सक्रिय राजनीतिका फर्किने संभावना बढि छ। र, यि सबैभन्दा बढि हो पति मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मार्गनिर्देशक सिद्धान्तलाई मुल मन्त्र मान्ने एमालेको आवश्यकता।
भण्डारीलाई एमालेजनले केपी ओलीपछिको पार्टी नेतृत्व ठानेका छन्। किनकि, उमेर हदका कारण आउँदो महाधिवेशनमा ईश्वर पोखरेललगायतका सिनियर नेता स्वतः विदा हुँदा पार्टी अध्यक्षको दाबेदार हुन्छन्, विष्णु पौडेल र शंकर पोखरेल। यि दुबै नेतामा ‘फस्टम्यान’ नै हुने योग्यता छैन भन्ने ठान्छन् एमालेका कार्यकर्ता। त्यसैकारण ओलीपछिको सर्वस्वीकार्य नेतृत्वका रूपमा भण्डारीलाई स्थापित गराउने तयारी एमालेको एउटा समूहले केही वर्षयता गरिरहेको थियो। अहिले नेतृत्वमा रहेका अधिकांश नेता भण्डारीलाई एमालेमा स्वागत गर्न तयार नै देखिन्छन्।
भण्डारीले राष्ट्रपतिबाट हटेपछि पनि देश र समाजका लागि निरन्तर योगदान दिने चाहना पटकपटक व्यक्त गरिसकेको पृष्ठभूमि र एमाले नेता(कार्यकर्ताको व्यग्र प्रतीक्षा हेर्दा उनी केही समयपछि च्यासल फर्किने संभावना नै बढि देखिन्छ। यद्यपि, भण्डारीका निकट भने राजनीतिमा फर्किदा हुने हानी र फाइदाको लेखाजोखा गर्न केही समय लाग्न सक्ने औंल्याउँछन्।
प्रतिक्रिया