राजनीति

उपराष्ट्रपति उम्मेदवार : कसकाे मत कति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २७ गते २१:०७
उपराष्ट्रपति उम्मेदवार : कसकाे मत कति ? (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७९ काठमाडौं । राष्ट्रपति चयन भएपछि निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन अघि बढाएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति मनोनयन दर्ता भएको छ । सत्ता गठबन्धनमा उपराष्ट्रपतिमा सहमति नजुट्दा तीन जनाले उम्मेदवारी दिएका छन् भने एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।

फरक फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले भने संविधानमा भएको अर्को व्यवस्थालाई समातेर राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिला सहभागिता हुनुपर्ने तर्क गरेको छ । जसअनुसार राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने आयोगको भनाइ छ ।

यसैलाई आधार मानेर जनता समाजवादी पार्टी जसपाले एक जना पुरुष र एक जना महिलाको उम्मेदवारी दिएको छ भने जनमत पार्टीले महिला उम्मेदवार बनाएको छ । कुन उम्मेदवारको अवस्था कस्तो छ त ?

राष्ट्रपति निर्वाचनमा बनेको आठ दलीय गठबन्धनमा सहभागी दल उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार बनाउन असफल भएका छन् । गठबन्धनमा रहेका दलहरु जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले आ–आफ्ना उम्मेदवार उभ्याएका छन् । जसपाले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य बनेका राम सहायप्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिमा महिला उम्मेदवार नै उपयुक्त हुने बताएपछि जसपाले प्रमिलालाई पनि उम्मेदवार बनाएको हो । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भनेपनि संविधानकै धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक रहन्छ भन्ने व्यवस्थालाई टेकेर निर्वाचन आयोगले महिलालाई प्राथमिकतामा राख्न भनेपछि जसपाले रामसहाय बाहेक प्रमिलालाई पनि उम्मेदवारका रुपमा अघि सारेको हो ।

यदि रामसहाय प्रसाद यादव उम्मेदवार बन्न अयोग्य भए प्रमिला कुमारी उपराष्ट्रपतिको उम्मेदवार हुनुहुनेछ । रामसहाय र प्रमिलालाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेको छ । जसपाबाहेक गठबन्धनकै तर्फबाट जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ । झालाई गठबन्धनकै नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ । तर, आठ दलीय गठबन्धनमा सहमति जुटाउन जसपा र जनमत दुबै प्रयासरत् छन् । यदि सहमति नजुटे मतभारका आधारमा कसको कति मत आउँला त ?

दलीय मतभार–
पार्टी मतभार
नेपाली कांग्रेस– १६ हजार १४२
नेकपा एमाले– १५ हजार ३१२
माओवादी केन्द्र‍– ७ हजार ६९७
रास्वपा– १ हजार ५०१
राप्रपा– २ हजार ४५०
जसपा– २ हजार १४५
एकीकृत समाजवादी– २ हजार ६५३
जनमत– १ हजार २४२
लोसपा– ९७१
नागरिक उन्मुक्ति– ८१३
नेमकिपा– २२३
राष्ट्रिय जनमोर्चा– २०६
हाम्रो नेपाली पार्टी– ९६
नेपाल संघीय समाजवादी– ४८
स्वतन्त्र– १ हजार १२९

जसपाका उम्मेदवार राम सहायप्रसाद यादवको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी उभिएका छन् । यादवको पक्षमा कति मतभार ?

रामसहायप्रसाद यादव वा प्रमिला कुमारीको पक्षमा मतभार–
कांग्रेस– १६ हजार १४२
माओवादी केन्द्र– ७ हजार ६९७
एकीकृत समाजवादी– २ हजार ६५३
जनता समाजवादी पार्टी– २ हजार १४५
राष्ट्रिय जनमोर्चा– २०६
कुल मतभार– २८ हजार ८ सय ४३
सत्ता गठबन्धनकै अर्की उम्मेदवार ममता झाको पक्षमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

ममता झाको पक्षमा मतभार–
जनमत पार्टी– १ हजार २४२
लोकतान्त्रिक समाजवादी पार्टी– ९७१
नागरिक उन्मुक्ति पार्टी– ८१३
कुल मतभार– ३ हजार २६

एमालेले आफ्नी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । शाक्यलाई एमालेको मात्र साथ सहयोग रहने छ ।

अष्टलक्ष्मी शाक्यको पक्षमा मतभार–
एमाले– १५ हजार ३१२

तटस्थ वा मतदानमा सहभागी नहुने
राप्रपा– २ हजार ४५०
नेमकिपा– २२३

अनिर्णित
रास्वपा– १ हजार ५०१

राप्रपाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा आफूलाई तटस्थ राख्ने फागुन २४ गते नै निर्णय गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिपतिमा रामचन्द्र पौडेललाई मतदान गरेको थियो भने उपराष्ट्रपतिमा मुख खोलेको छैन । अर्को दल नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिको निर्वाचनमा भाग नै लिएन, उपराष्ट्रपतिमा पनि मत हाल्ने पक्षमा छैन ।

सङ्घीय संसद्का ३३२ जना र प्रदेशसभाका ५५० जना मतदाताहरूको सबै मत भार जोड्दा ५२ हजार ६२८ हुन्छ।त्यसको बहुमतका लागि २६ हजार ३१५ मत आवश्यक पर्छ। राष्ट्रपति निर्वाचनमा ३ सय ३२ संघीय सांसदमध्ये ३ सय १३ र ५ सय ५० प्रदेश सांसदमध्ये ५ सय १८ ले मतदान गरेका थिए । एक संघीय सांसद बराबर ७९ मतभार रहँदा एक प्रदेश सांसद बराबर ४८ मतभार हुन्छ । आठ दलीय गठबन्धनमा सहमति नजुटेर अहिलेकै अवस्थाको समीकरण बने जसपाका उम्मेदवारले उपराष्ट्रपति जित्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्