राजनीति

बागमती सरकार मुख्यमन्त्रीमा कांग्रेसकाे दाबी (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २७ गते १८:०२
बागमती सरकार मुख्यमन्त्रीमा कांग्रेसकाे दाबी (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७९ मकवानपुर । आठ दलीय गठबन्धन बनेसँगै नेकपा एमाले संघीय सरकारबाट बाहिरिएको छ । नयाँ गठबन्धनका कारण एमालेले नेतृत्व गरेको प्रदेश सरकार ढल्ने अवस्थामा छ ।

गठबन्धनमा मन्त्रालय बाँडफाँट र मुख्यमन्त्री फेरबदलको तयारी छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण अहिलेसम्म मौन छन् । राष्ट्रपतिको निर्वाचन सकिएसँगै अहिले प्रदेशमा गठबन्धन दलहरू मन्त्रालय भागवण्डाका लागि आन्तरिक छलफलमा छन् । बागमती प्रदेशमा त मुख्यमन्त्री लिने गरी कांग्रेस अघि बढेको छ ।

राष्ट्रपति निर्वाचनका लागि गत फागुन १० मा केन्द्रीय तहमा बनेको सत्ता समीकरणको आंशिक असर बागमती प्रदेशमा पनि देखिएको छ । संघबाट बाहिरिएपनि एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । तर, चैत ५ पछि भने मन्त्रिमण्डल फेरबदल हुने निश्चित छ ।

पुस १० मा बनेको गठबन्धन अनुसार पुस २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार गठन भयो । भागवण्डाअनुसार प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले गर्नुभएको थियो ।

सभामुख राप्रपा र उपसभामुख एमालेले पाउँदा माओवादीले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिएको थियो । एमालेले ४ र राप्रपाले ३ मन्त्रालय पाएका थिए । राप्रपा बाहिरिएको भएपनि एमाले अझै सरकारमै छ ।

सरकारबाट अलग हुने विषयमा एमाले वृत्तमा आन्तरिक छलफल जारी रहेको र केन्द्रीय तहको निर्देशनको पर्खाइमा सांसद देखिन्छन् । एमालेले केन्द्रको निर्देशन अनुसार नै मन्त्रीले राजीनामा दिने तयारी गरेको छ ।

राष्ट्रपति निर्वाचनको मत परिणाम नै सार्वजनिक भइसकेको अवस्थामा नैतिकताको आधारमा पनि सरकारबाट अलग बस्नु पर्ने एमालेका सांसदहरू बताउँछन् । उता, कांग्रेस भने प्रदेशको नेतृत्व नै गर्ने मुडका साथ तयारी अवस्थामा बसेको छ ।

एमाले बाहिरिएपनि प्रदेश सरकारलाई भने खास असर पर्दैन । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ । उता नेपाली कांग्रेससँग ३७, समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छ ।

बागमतीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ । नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक भएसँगै जम्मकट्टेल सरकार सुरक्षित नै रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्