Main News

माओवादी धारका पार्टीले २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने

५ गतेपछि मात्रै सरकार विस्तार हुने

हिमालय टिभी
२०७९ फागुन २६ गते १०:२३
माओवादी धारका पार्टीले २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने

२६ फागुन २०७९ काठमाडौं । माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बताउनु भयो । उहाँले पछिल्लो शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज बिहान बैठक बस्यो, पूर्वमाओावदी घटकहरु आठ दलको बैठक बस्यो । शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै, शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउने, शान्ति प्रक्रियाका कामहरु छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेताहरु मिलेर भन्नेकुरा भएको छ । ३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्तिप्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध दर्ता भएको रिट अदालतको कानूनी प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने खालका प्रवृत्तिहरु देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आदालतको कुरा कानूनी प्रक्रियाअनुसार नै अघि जान्छ । शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने, खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो प्रवृत्तिका बारेमा सजग र सतर्क सबै भएका छन् । शान्ति प्रक्रियालाई उल्ट्याउन खोजेको नै हो भने शान्ति प्रक्रिया समाप्त भयो भन्न खोजेको हो भने अर्कै कुरा हुन्छ । शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्नुपर्छ भन्नेकुरा भएको छ ।’

महासचिव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभयो । उहाँले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताउनुभयो । उहाँले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरुले पहल गर्नुपर्ने अभिव्यक्ति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको शुरु गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’

महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *