Main News

आम चुनावका अधिकांश उम्मेदवारले बुझाए खर्च (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २५ गते २०:५४
आम चुनावका अधिकांश उम्मेदवारले बुझाए खर्च (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७९ काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका अधिकांशले खर्च विवरण बुझाएका छन् ।

निर्वाचन आयोग ऐनमा भएको व्यवस्था बमोजिम निर्वाचन सकिएको ३० दिनभित्र उम्मेदवारले तोकिएको समय र ढाँचामा खर्च विवरण बुझाउनुपर्छ । वैशाख ३० को स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ७० प्रतिशतले निर्वाचन खर्च विवरण नबुझाएपछि आयोगले उनिहरुमाथि जरिवान गरेको थियो ।

यसले पनि मंसिर चारमा भएको निर्वाचनका उम्मेदवार सजग बनेको आयोगको विश्वास छ ।

मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ सय ६५ क्षेत्रमा कुल २ हजार ४ सय १० जना र सात प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्र तर्फ ३ हजार २ सय २३ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा ९१० बमोजिम दल र उम्मेदवारले निर्वाचनको अन्तिम मतरिणामा घोषणा भएको ३० दिनभित्र अनिर्वाय खर्च विवरण बुझाउनुपर्छ ।

प्रतिनिधिसभामा उम्मेदवारी दिएका २ हजार ३ सय ७३ र प्रदेश सभामा उम्मेदवारी दिएका ३ हजार १ सय ८९ जनाले तोकिएको समय र ढाँचामै विवरण बुझाएका छन् । तोकिएको समयभित्र प्रतिनिधिसभातर्फ ३७ र प्रदेश सभातर्फ ३५ जनाले विवरण बुझाएका छैनन् भने एक जनाले तोकिएको समयपछि बुझाएका छन् ।

प्रतिनिधिसभातर्फ कोशी प्रदेशबाट उम्मेदवारी दिएका ४ सय ३७ मध्ये ४ सय ३१ जनाले खर्च विवरण बुझाएका छन् । मधेश प्रदेशबाट उम्मेदवारी दिएका ५ सय ८९ जनामध्ये ५ सय ७८ जना, बागमती प्रदेशबाट ६ सय ३१ मध्ये ६ सय १६ जना, गण्डकी प्रदेशबाट १ सय ९६ मध्ये १ सय ९२ जना, लुम्बिनी प्रदेशबाट ३ सय ४६ मध्ये ३ सय ४६ ले खर्च विवरण बुझाएका छन् ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवारी दिएका सबैले खर्च विवरण बुझाएका छन् । मधेश प्रदेशबाट ११, बागमतीबाट १५, गण्डकीबाट ४ र लुम्बिनी प्रदेशबाट एक जनाले खर्च विवरण बुझाएका छैनन् । प्रदेशसभातर्फ कोशीका ५ सय १० मध्ये ५ सय ४ जना, मधेशका १ हजार ७ जना मध्ये ९ सय ८५, बागमतीका ६ सय ६८ मध्ये ६ सय ६१ र गण्डकी प्रदेशका २ सय ३५ मध्ये २ सय ३४ जनाले खर्च विवरण बुझाएका छन् ।

प्रदेशसभा तर्फ कोशीका ६, मधेशका २१, बागमतीका ७ र गण्डकीका एक जनाले खर्च विवरण नै बुझाएका छैनन् । मधेशका एक जनाले समय सकिएपछि विवरण बुझाएका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा उम्मेदवारी दिएका सबैले खर्च विवरण बुझाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभामा उम्मेदवारी दिने एक उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म र प्रदेशसभातर्फ उमेदवारी दिनेले १५ लाखदेखि २५ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *