Main News

अहिलेकै अवस्थामा माओवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई मत नदिने

हिमालय टिभी
२०७९ फागुन २० गते १६:५७
अहिलेकै अवस्थामा माओवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई मत नदिने

२० फागुन २०७९ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउन कठिन देखिएको छ ।

केन्द्रमा आठ दलीय गठबन्धन ब्युँतिएपछि भोलि विश्वासको मत लिने तयारी गरेका शाहलाई गठबन्धन भित्रकै दुई दल नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले नै मत नदिने संकेत गरेका छन ।

माओवादी र नागरिक उन्मुक्तिको मतबिना शाहको पक्षमा बहुमत पुग्दैन । माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको आजको बैठकले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादीका सांसद अक्कल रावलले जानकारी दिनुभयो । बैठकपछि माओवादी संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीसँग छलफल पनि गर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका आफ्ना पति रेशम चौधरीलाई रिहा गर्ने लिखित सहमति नभएसम्म विश्वासको मत नदिने बताउनु भएको छ ।

रञ्जिताले फेसबुकमा स्टाटस लेख्दै दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन नसकिने उल्लेख गर्नुभयो । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक हुन्छ ।

आठ दलीय गठबन्धनमा कांग्रेसका १९, माओवादी केन्द्रका ११ , नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ गरी ४१ जना सांसद छन्। यसमा उन्मुक्ति र माओवादीले मत नदिए शाहको पक्षमा बहुमत पुग्दैन । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, राप्रपा र स्वतन्त्र १र१ जना सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *