Main News

रास्वपाले बिर्सिएको हो चुनावी वाचा ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १९ गते २१:००
रास्वपाले बिर्सिएको हो चुनावी वाचा ? (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको छोटो समयमा नै राष्ट्रिय राजनीतिमा स्थापित भयो । यो पार्टी जसरी स्थापित भयो, त्यसैगरी छोटो समयमा नै आफ्ना चुनावी वाचा बिर्सन थालेको हो कि ? भन्ने आभास हुन थालेको छ । राष्ट्रपतिको निर्वाचनमा राजनीतिक दलका नेतालाई मतदान गर्ने संकेत गर्नु रास्वपा स्खलित हुँदै गएको जो कोहीले अनुमान गर्न सक्छन् ।

रास्वपाले आफ्नो चुनावी वाचा पत्रमा स्पष्टसँग भनेको छ– राष्ट्रपतिको उम्मेदवारका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको व्यक्ति हुनुपर्ने । उसकै वाचा पत्र अनुसार यो राष्ट्रपतिको निर्वाचनमा रास्वपाले मत हाल्न नैतिक रुपमा मिल्दैन् ।

किनकी अहिले राष्ट्रपतिका दुवै उम्मेदवार दलको राजनीतिमा सक्रिय हुनुहुन्छ । ८ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेल कांग्रेसका बरिष्ठ नेता हुनुहुन्छ भने नेकपा एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ पार्टीका उपाध्यक्षको पद सम्हालिरहनु भएको छ ।

राष्ट्रपतिको उम्मेदवार बने लगत्तै दुवै नेता रास्वपासँग मत माग्न पुगिसक्नु भएको छ । तर रास्वपाले राष्ट्रपतिका दुबै उम्मेदवारलाई पार्टीको नीति अनुसार मत दिन सकिन्न भनेको छैन । के रास्वपाले आफ्नो वाचा भुलिसकेको हो त ?

पाए तातै पानीले नुहाउने नभए चिसै पानीले भए पनि नुहाउने नीति रास्वपाले अहिले लिएको प्रवक्ता मुकुल ढकालले यो जवाफबाट निचोड निकाल्न सकिन्छ । आफूहरु गणतन्त्र पक्षधर भएकाले यो व्यवस्थालाई बलियो बनाउने बाध्यताले पनि राष्ट्रपतिका उम्मेदवारलाई मत दिनुपर्ने अवस्था आउन सक्ने प्रवक्ता ढकालले संकेत गर्नु भयो । नभए गणतन्त्र विरोधीको ट्याग लाग्न सक्ने चिन्ता छ यो दललाई ।

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राखेकाले रास्वपाले ८ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका कांग्रेस नेता रामचन्द्र पौडेललाई मत दिने सम्भावना अड्कल गर्न थालिएको छ । तर रास्वपाले नेकपा एमालेका नेताहरुसँगको भेटमा पुस १० गते सहमति पालना गर्ने प्रतिवद्धता गरेको छ । यसले रास्वपा राष्ट्रपति निर्वाचनलाई लिएर अझै स्पष्ट हुन नसकेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *