राजनीति

गठबन्धन भत्काउने धराप नथाप्न गगन थापाको चेतावनी

हिमालय टिभी
२०७९ फागुन १९ गते १७:१५
गठबन्धन भत्काउने धराप नथाप्न गगन थापाको चेतावनी

१९ फागुन २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिनुभएको छ ।

शुक्रवार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरुलाई केन्द्रित गरेर काठमाडौँमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिनुभएको हो ।

उहाँले आफूहरुका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडी बढ्ने बताउनु भयो । उहाँले राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

महामन्त्री थापाले आफूहरुका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारीता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताउनु भयो । उहाँले नेपाली काँग्रेसका कोही पनि नेताहरुलाई भेटेर गठबन्धन भत्काउने चकचक नगर्न चेतावनी दिनुभयो ।

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै यो गठबन्धन नबनेको स्पष्ट पार्नुभयो । दाहाललाई नेकपा(एमाले)ले पाँचै वर्ष प्रधानमन्त्री दिएको भएपनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उहाँको भनाई छ ।

त्यस्तै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि एमालेले राष्ट्रपतिको उम्मेदवार अथवा एमालेको अध्यक्ष नै बनाउन पनि तयार हुने स्थिति रहेको बताउनु भयो । उहाँले गठबन्धनलाई बचाएर लानुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा(माओवादी केन्द्र) वागमती प्रदेश सभा संसदीय दलका नेता समेत रहनुभएका वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माओवादी केन्द्रका सबै वागमती प्रदेश सभा सदस्यहरुको मत राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आठ दलले गरेको निर्णय माओवादी केन्द्र प्रदेश सभाले अक्षरश पालना गर्ने बताउनुभयो ।

उहाँले निर्वाचनको बेलामा अनेक खालका भ्रमहरु छरिनेभएकाले त्यसप्रति सचेत हुन सबै सांसदहरुलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्