राजनीति

रास्वपा : समर्थनको स्वार्थ, प्रचण्डप्रति विश्वास किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १६ गते २१:२०
रास्वपा : समर्थनको स्वार्थ, प्रचण्डप्रति विश्वास किन ? (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७९ काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका उल्लेख्य नै थियो। तर, नागरिकता विवादमा अध्यक्ष रवि लामिछानेको सांसद पद गएपछि प्रधानमन्त्रीका लागि त्यही स्वतन्त्र पार्टी ‘पत्रु’ झैं भयो। पार्टीसँग गरेको सहमति प्रधानमन्त्री दाहालले व्यक्तिलाई देखाएर उल्लंघन गरे।

लगत्तै स्वतन्त्र पार्टीले समर्थन चाहिँ कायमै राखेर सरकार छोड्यो। पुस १० गते बनेको समीकरणका दुई दल एमाले र राप्रपाले समर्थन फिर्तासहित सरकार यात्रा त्याग्दा स्वतन्त्र पार्टीले भने दाहालप्रति विश्वास कायमै राखेको छ। किन ?

पार्टीले पूर्व सहमतिअनुसार पुनः गृहमन्त्रालयको नेतृत्व नपाउने भएपछि रास्वपाले माघ २२ गते समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय ग¥यो। समर्थन कायमै राख्नुमा उसको तर्क थियो–अस्थिरताको कारण नबन्ने।

यसबीचमा पुस १० मा बनेको सत्ता गठबन्धन भत्किसकेको छ। र, त्यो गठबन्धनका मुख्य हिस्सेदार एमाले र राप्रपाले समर्थन फिर्तासहित सरकार छोडिसकेका छन्।

तर, रास्वपाले चाहिँ हिजो सोमबार दोस्रो पटक ‘उपयुक्त समय नआउन्जेलका लागि’ भन्दै सरकारलाई दिएको समर्थन कायमै रहने स्पष्ट पा–यो।

प्रधानमन्त्रीले गृहमन्त्रालय नदिएर घोर अपमान गर्दासमेत रास्वपाले समर्थन फिर्ता लिएन। अझ, पुस १० को गठबन्धन टुटिसक्दा पनि उसले सरकारलाई दिएको समर्थन कायमै राख्नुका मुख्य चार कारण देखिन्छ।

पहिलोः अध्यक्ष रवि लामिछानेको पासपोर्ट छानविन सम्बन्धि केस। सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रधानमन्त्रीलाई थप चिढ्याउँदा द्रुतरुपमा छानविन हुने डर संभावना बढ्छ। सरकारले चाहे भने छानविन सकेर उपनिर्वाचन अघि नै मुद्दा दर्ता गराउन सक्ने भएकाले रास्वपा प्रधानमन्त्रीसँग थप दूरी बढाइहाल्ने मनपस्थितिमा छैन।

दोस्रोः पुस १० मा गठबन्धन बने लगत्तै रास्वपालाई एमाले निकट दलको आक्षेप लाग्यो। अध्यक्ष रवि लामिछानेका गतिविधिले आक्षेप लगाउने आधार दिएको पनि हो। तर, अहिले रास्वपा त्यस्तो आक्षेप कायमै नरहोस् भन्ने ठान्छ। एमालेले लिएकै बाटो रोज्दा आक्षेप सत्य हो कि भन्ने सन्देश जाने भएकाले पनि रास्वपाले सरकारलाई दिएको समर्थन जारी राखेको बताइन्छ।

तेस्रोः एमालेका केही नेताले यसअघि नै चितवन–२ मा हुने उपनिर्वाचनमा रविलाई पार्टीले नै समर्थन गर्ने बताइसकेका छन्। सरकारलाई समर्थन कायमै राख्दा नवनिर्मित सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी, जसपा, जनमतजस्ता दलको पनि सहानुभूति पाइने आश रास्वपालाई छ।

चौथोः हतारको सरकार यात्रा र हतारकै बर्हिगमनलाई धेरैले अपरिपक्व निर्णय भने। फरक सोच्छु र गर्छु भन्नेको मनस्थिति पनि पुरानै दलको जस्तै रहेछ भनेर आलोचना भयो। आफ्नै कारण जन विश्वासको संकटमा परेको रास्वपा अहिले चाहिँ सरकार सहभागिता र समर्थन फरक सन्दर्भ हो भन्ने स्थापित गराउन चाहान्छ। उ आफूलाई अरुजस्तो आवेगमा निर्णय गर्ने दल होइन भन्ने पार्ने उद्देश्यमा छ।

कतिपयले नयाँ बनेको सत्ता समीकरणमा संलग्न हुने चाहनाका कारण पनि रास्वपाले सरकारको समर्थन कायमै राखेको दाबी पनि गरेका छन्। तर, गृहमन्त्रालयको नेतृत्वमा फेरि दाबी गर्दा प्रधानमन्त्रीले गरेको व्यवहारका कारण नयाँ समिकरणमा घुस्रिन रास्वपालाई नैतिक संकट छ। कांग्रेसका केही नेताले चाहिँ पासपोर्ट छानविन र उपनिर्वाचनमा राहत हुने भन्दै सत्तारुढ गठबन्धनमै आवद्ध हुन सुझाएको बताइन्छ। तर, अनौपचारिक कुराकानी गरिएका रास्वपाका सबै नेताले कांग्रेसको सुझावबारे आफू अनभिज्ञ रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्