राजनीति

ओली र प्रचण्डबीचको सम्बन्ध किन चिसियो चाँडै ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १५ गते २०:३१
ओली र प्रचण्डबीचको सम्बन्ध किन चिसियो चाँडै ?(भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको पछिल्लो दुई महिने सहकार्य तनावपूर्ण रह्यो ।

यो बीचमा दुई नेताबीच सार्वजनिक घोचपेच नभए पनि गठबन्धन परिवर्तन भएसँगै दोषारोपण सुरु भएको छ । कस्तो रह्यो त दुई महिने सम्बन्ध ?

नेपाली कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपति पद कांग्रेसलाई नै सुम्पिने सुरसार भएपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, यो दुई महिनामा निकै तीतो अनुभव गरेँ ।
एमाले नेतृत्वको गठबन्धन छोडेका प्रचण्डले आफू नयाँ गठबन्धनमा गएपछि खुसी भएकोसमेत सुनाउनु भयो ।

त्यसको भोलिपल्ट एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई जवाफ फर्काउनुभयो । विगत दुई वर्षमा आफ्ना सयौँ मन्तव्यबाट प्रचण्डमाथि तिखो प्रहार गरेका ओलीले पुस १० देखि फागुन १० सम्म प्रचण्डविरुद्धको आवेगलाई नियन्त्रणमा राख्नु भएको थियो । तर पुस १० गतेको सहमति तोडेर प्रचण्ड पुरानै गठबन्धनको छाहरीमा पुगेपछि ओली सम्हालिन सक्नु भएन ।

ओली भन्नुहुन्छ, प्रचण्ड चक्कु लिएर बस्नु भएको थियो, तर फूल भनेर छक्याउनुभयो । म फूलै हो भन्दै बसिदिएँ तर मेरो आँखाले धोका खाको थिएन ।

दुई नेताबीचको तुष सहजै मेटिने अवस्था थिएन, मेटिएन । प्रचण्डलाई प्रधानमन्त्री उपहार दिएर नियन्त्रणमा राख्ने ओली चाहना र प्रधानमन्त्री बनिसकेपछि आफ्नो शक्तिको अधिकतम प्रयोग गर्ने प्रचण्ड चाहना दुवै सफल हुन सकेनन् । प्रधानमन्त्री पदलाई समेत आलंकारिक बनाइदिएर आफैले शासन चलाउने ओलीको प्रयासले विगत दुई महिनाभित्रै माओवादी र एमालेबीच चिसो सुरु भयो ।

ओलीले अर्थ, परराष्ट्र, रक्षा जस्ता महत्वपूर्ण मन्त्रालय एमालेसँगै राख्नुभयो । अर्को महत्वपूर्ण मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिलाउनुभयो । यतिमात्र होइन, नागरिकता विवादले सांसद र मन्त्री पद खारेज भएपछि पुनः रवि लामिछानेलाई मन्त्री बनाउन दबाब दिनुभयो । प्रधानमन्त्री प्रचण्ड सशंकित हुँदाहुँदै ओलीले राप्रपालाई छहारी प्रदान गरिदिनुभयो ।

प्रचण्ड यत्तिकै पनि अस्थिर नेताका रुपमा चिनिनिहुन्छ । त्यसमाथि ओलीको दबाब र विश्वासको मत दिएर कांग्रेसले देखाइरहेको सद्भावले उहाँले जतिबेला पनि पाइला मोड्न सक्ने जोखिम छँदैथियो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाट विमुख हुनुपरेको कांग्रेस गठबन्धन टुटाउने घोषित नीतिमा रहँदा ओलीले प्रचण्डलाई फकाउनुपर्नेमा थप चिढ्याइरहनुभयो ।
ओली र प्रचण्डबीच यो बीचमा दैनिकजसो भएको भेटमा विवाद, मतभेद र ‘हातमा फूल, बगलीमा चक्कु’ भइरह्यो ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनले कुनै एक पार्टीलाई बहुमत दिलाउन सकेन । जसका कारण कुनै दुई वा त्यसभन्दा बढी दल मिलेरै सरकार बनाउनुपर्ने अवस्था थियो । सरकार जसरी गठन भए पनि उद्देश्य पाँच वर्षीय संसदीय कार्यकालमा केही नयाँ गर्ने हुनुपथ्र्यो । तर यो बीचमा यी दुई नेताबीच शक्ति फुत्काउने र बचाउने होड चलिरह्यो जसको नतिजा मुलुकमा पुनः अर्को स्वार्थ समूहको पादुर्भाव भएको छ । २५ गते राष्ट्रपति पदमा मतदान गर्ने दिनसम्म अझै नयाँ के हुन्छ, हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्