Main News

बालेनलाई राजीनामा दबाब ! किन, कसले दियो दबाब ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १५ गते ७:५२
बालेनलाई राजीनामा दबाब ! किन, कसले दियो दबाब ?(भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामा गर्न लगाउन खोजिएको दाबी गर्दै शनिबार एक फेसबुक पोष्ट गर्नु भयो । त्यसलगत्तै उहाँले अर्को पोष्ट गर्दै कसैले आफूलाई नसक्ने दाबी गर्दै फेरी अर्को पोष्ट गर्नु भयो । दुवै पोष्ट अपुष्ट भएपनि उहाँलाई कस्ले राजीनामा गर्न दबाव दिएको हो ? भन्ने खुलाउनु भएको छैन । शाहले किन लेख्नुभयो यस्तो स्टाटस ?

राजनीतिक समीकरण बदलिँदा प्रधानमन्त्रीको पद गुम्न सक्छ । तर स्थानीय तहका जनप्रतिनिधि कतिसम्म बलिया छन् भने देशको वा आफ्नै पालिकाको कुनै राजनीतिक समीकरण फेरिँदा उनीहरु पदमुक्त हुनुपर्दैन । राजनीतिक आन्दोलन वा विरोधका कारण राजीनामा दिनुपर्दैन । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १५ अनुसार पदबाट मुक्त हुन कुनै पदमा निर्वाचितको मृत्यु भएमा, स्वेच्छिक राजीनामा दिएमा वा अदालतबाट अयोग्यतासम्बन्धी कुनै फैसला आएमा पदमुक्त हुन सक्छन् ।

यही ऐनको दफा १२ अनुसार उम्मेदवार हुन योग्य व्यक्ति सामान्य कारणले पदमुक्त हुँदैनन् । यो दफाले उम्मेदवारको योग्यता तोकेको छ, जसमा नेपाली नागरिक, एक्काइस वर्ष उमेर पूरा भएको, स्थानीय तहको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कानूनले अयोग्य नभएको व्यक्ति उम्मेदवार हुन पाउँछ । उम्मेदवार भएको व्यक्ति निर्वाचन जितेमा कुनै राजनीतिक कारणले पदमुक्त हुनेछैन ।

शनिबार दिउँसो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा एक पोष्ट लेख्दै आफूलाई राजीनामाको दबाब आएको भन्दै यो देश कहिल्यै पनि नबन्ने ठोकुवा गर्नुभयो ।

देश नयाँ राष्ट्रपतिको रस्साकस्सीमा रहेका बेला बालेन्द्रले लेखेको फेसबुक स्टाटसले कतिपयको ध्यानाकर्षण गर्यो पनि ।

दुई महिनाअघि बनेको राजनीतिक समीकरण भत्किएर नयाँ राजनीतिक समीकरण बनिरहँदा देश अस्थिरतातिर जान लागेको लोक(बहसका बीचमा बालेन्द्रले लोकरिझ्याईँको अस्त्र प्रक्षेपण गर्नुभयो । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा बालेन्द्र शाहसहित केही स्वतन्त्र उम्मेदवार र मंशिरमा सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही नयाँ पार्टीले लोकरिझ्याईँको जुन लाभ लिन सफल भए यतिबेला मुलुकको राजनीति अस्थिर भइरहँदा बालेन्द्रले त्यही हतियार प्रयोग गर्नुभयो ।

आफ्नो फेसबुक स्टाटसमा क्षेणभरमै प्राप्त हजारौँ प्रतिक्रियापछि तत्काल बालेन्द्र शाहले अर्को अर्को स्टाटस लेख्दै आफूले कहिल्ये आत्मसमर्पण नगर्ने उद्घोष पनि गर्नुभयो । विधि र विधानले शाहलाई राजीनामा दिन भन्दैन, बाध्य पार्दैन । काठमाडौं जस्तो लाखौँ जनसंख्या र लाखौँ अपेक्षा भएको महानगरको मेयरले केही वाही–वाही र केही आलोचना सुन्नु स्वभाविक हो । आलोचना हुनासाथ आफूमाथि प्रहार भएको भन्दै उहाँले सहानुभूति लिन खोज्नुभयो । लोकप्रियताको पारो ओरालो लाग्न खोजेको भान हुँदा कामबाट त्यसलाई परिपूर्ति गर्नुपर्नेमा उहाँको यो अस्त्रमा अलि कच्चा पनि देखिएको छ ।

मेयर बालेन्द्र शाह आफ्नो सुरक्षाको लागि सरकारले प्रहरी उपलब्ध गराइदिओस् भन्ने चाहनुहुन्छ । यसका लागि जिल्ला प्रशासन, गृहमन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्मै उहाँले आफ्नो कुरा पुर्याइसक्नु भएको छ । महानगर नै प्रहरीयुक्त छ । काम गर्दा हुन सक्ने सुरक्षा जोखिममा उहाँले सरकारले प्रहरी नदिए महानगरकै प्रहरी बल परिचालन गर्न सक्नुहुन्छ ।

महानगरले यसै पनि विभिन्न सेक्युरिटी कम्पनीसँग सुरक्षाकर्मीको सम्झौता गरेर परिचालन गरिरहेकै छ । त्यसमाथि बालेन शाहको स्टारडम छुट्टै छ । उहाँ समर्थकहरुकै दस्ता बोकेर सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेको कतिपय ठाउँमा देखिएकै छ । यस्तो अवस्थामा सामाजिक सञ्जालमा चर्को स्वरमा रुनु वा लाइक्स र कमेन्टमा सहानुभूति खोज्नुले अपरिपक्वाता झल्किन्छ कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *