राजनीति

राष्ट्रपतिमा प्रतिष्पर्धा, कसको पल्लाभारी ? यस्तो छ अंकगणित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १४ गते १६:२९
राष्ट्रपतिमा प्रतिष्पर्धा, कसको पल्लाभारी ? यस्तो छ अंकगणित (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७९ काठमाडौं । देशको तेस्रो राष्ट्रपति बन्ने होडमा ८ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा हुनुहुन्छ ।

फागुन २५ गते हुने निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको हो । राष्ट्रपति निर्वाचन प्रधानमन्त्री र सभामुख(उपसभामुखको चयन प्रक्रिया भन्दा फरक छ । राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य गरी कुल ८ सय ८२ जना मतदाता छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ सालमा राष्ट्रपति निर्वाचनको प्रक्रियाबारे उल्लेख छ । यहि ऐनलाई आधार बनाएर आउने २५ गते नेपालको तेस्रो राष्ट्रपति निर्वाचन हुँदै छ । त्यसका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङमा फागुन १३ गते उम्मेदवारी दर्ता गराउनुभयो । पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ दलको साथ छ भने नेम्वाङलाई आफ्नै पार्टीको मात्रै साथ छ ।

अब निर्वाचनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३ सय ३२ जना र प्रदेशसभाका ५ सय ५० सदस्यले मतदान गर्ने छन् । गोप्य मतदान हुने राष्ट्रपति निर्वाचनमा संघीय सांसदले दिएको एक मत बराबर ७९ मतभार हुने छ भने प्रदेशसभा सदस्यले दिएको एक मत बराबर ४८ मत भार हुने छ । अर्थात् संघीय संसदका १ सांसदले ७९ हजार जनताको प्रतिनिधित्व गर्ने छन् भने प्रदेशसभा सदस्यले ४८ हजार जनताको ।

२०७८ मा जनगणना सम्पन्न भए पनि प्रारम्भिक प्रतिवेदन मात्रै आएकाले २०६८ को जनगणनालाई आधार बनाएर यो मतभार तयार परिएको हो । यो निर्वाचनमा संघीय सांसदको कुल मतभार २६ हजार ३ सय ७ छ भने प्रदेशसभा सदस्यका कुल मतभार २६ हजार ४ सय छ । यसरी यो पटकको राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ७ सय ७ छ । बहुमत प्राप्तगरि राष्ट्रपतिमा निर्वाचित हुन पौडेल या नेम्वाङले कम्तिमा २६ हजार ३ सय ५४ मत ल्याउनुपर्ने छ ।

अब हेरौं कुन दलसँग कति मतभार छ ?
संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सबैभन्दा बढी मतदात र मतभार छ । कांग्रेसँग संघीय संसद्‌मा ९८ र सात प्रदेश सभामा १७६ सांसदसहित १६ हजार २ सय ६९ मत छ। यस्तै संसदको दोस्रो ठुलो दल एमालेसँग संघीय संसद्का ७९ र प्रदेशसभाका १ सय ६१ सांसदसहित १५ हजार ३ सय १२ मत छ । सत्ताको बागडोर सम्हालीरहेको नेकपा माओवादी केन्द्रका संघीय संसदमा ४७ जना र प्रदेशसभामा ८४ जना सांसद छन् । माओवादी केन्द्रको मतभार ७ हजार ८ सय ७२ छ ।

यस्तै चौथौ ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका १९ जना सांसद् छ । उसले प्रदेशसभामा उम्मेदवारी नै दिएको थिएन् । रास्वपासँग १ हजार ५ सय १ मतभार छ । यस्तै राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार १४५, नेकपा एकीकृत समाजवादीसँग २ हजार ५७४, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मतभार छ ।

कसको पक्षमा कति मत ?
कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत, लोसापा, नाउपा र राष्ट्रिय जनर्मोचासहितको आठ दलीय गठबन्धनसँग ३२ हजार १ सय ८८ मतभार छ । अहिले सरसर्ती हेर्दा यो पौडेलले पाउने मत हो । नेम्वाङको पक्षमा भने हालसम्म १५ हजार ३ सय १२ मत मात्रै देखिन्छ । यता रास्वपा, राप्रपा, नेमकिपा, नेपाल संघीय समाजवादी, हाम्रो नेपाली पार्टी र संघीय संसदका ४ जना र प्रदेशसभाका ७ जना स्वतन्त्र सांसद् कतै खुलेका छैनन् । उनिहरुको मतभार ४ हजार ९ सय ७० हुन्छ । यहि अनिर्णित मत आफ्नो पक्षमा पर्ने दाउमा एमाले छ । यस्तै ८ दलीय गठबन्धनबाट पनि मत तान्न एमालेले कसरत गरिरहेको छ ।

पौडेलको पक्षमा ३२ हजार १ सय ८८ मत
नेम्वाङको पक्षमा १५ हजार ३ सय ९१ मत
निर्णय हुननसकेको ४ हजार ९ सय ७० मत
कुल मतभार ५२ हजार ५ सय ४९

अंक गणितमा कांग्रेसका पौडेल बलिया दावेदार देखिनुभएको छ । फागुन २५ भित्र ८ दलीय गठबन्धनमा फेरबदल नभएमा वा प्रधानमन्त्री प्रचण्डले साथ नछोडेमा पौडेललाई सहज देखिन्छ । अहिलेकै अवस्थामा एमालेका नेम्वाङलाई भने जित सहज छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्