Main News

आगलागीले मानवीय क्षति, जोखिम न्यूनीकरण गर्ने उपाय के ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १४ गते १६:१३
आगलागीले मानवीय क्षति, जोखिम न्यूनीकरण गर्ने उपाय के ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७९ पाँचथर । मध्य पहाडतिरका घरमा तल्लो तलामा गाईभैंसी बाँध्ने र माथिल्लो तलामा मान्छे बस्ने चलन छ । खरले छाएको गोठ–घरमा खाना पकाउँदा आगोले छानो टिपेर आगलागी भएका अनेकौं उदाहरण छन् ।

टाँसिएर बनेका घर त उच्च जोखिममा हुने गर्दछन् । आगो निभाउने प्रविधि र जनशक्ति नहुँदा समयमै आगो निभाउन सकिएको छैन । पाँचथर र तेह्रथुममा दुई दिन अघि आगलागीले मानवीय क्षति हुँदा पनि आगामी दिनमा जोखिम न्यूनीकरण गर्ने उपायबारे भने छलफल पनि भएको छैन ।

पाँचथरको हिलिहाङ गाँउपालिका–७ मा बालविकास केन्द्रबाट फर्किएर खाजा खाएर निस्किएका दुई बालकको छिमेकीको घरमा आगलागी हुँदा मृत्यु भयो । शुक्रवार साँझ ५ वर्षीय सेसेहाङ पन्थाक र ४ वर्षीय निशान खातीको मृत्यु भयो । घर आगलागी भएर निक्कै जलेपछि मात्र गाँउले थाहा पाए । निभाउन गरेको प्रयास सम्भव नै भएन ।

चालु आर्थिक वर्षको आठ महिनामा पाँचथरमा आगलागी भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । पुसमा फिदिम नगरपालिका– ८ मा आगलागी हुँदा २३ वर्षीय आसाङसिङ थेबे र २२ वर्षीय ममता गुरुङको मृत्यु भएको थियो । यो हिउँदमा पानी नपरेकाले बस्ती उराठ लाग्दो छ । खडेरी लागेसँगै आगलागीका घटना बढ्न थालेका छन् ।

शुक्रवार मात्र तेह्रथुमको अठराई गाउँपालिकाको हात्तीखर्कको जंगलमा लागेको आगो गाँउमा पस्यो । पूर्वी पहाडी जिल्लामा अहिले दैनिक जसो जंगलमा आगलागी भईरहेको छ । एउटा एउटा घर जल्ने, बस्ती नै जल्ने गरेका छन् । पूर्वी पहाडका धेरै सहर तथा बजारले आगलागी व्यहोरेका छन् । ग्रामीण बजारमा काठका घर जोखिम पूर्ण छन् । गाँउमा खरका छाना भएका घर उत्तिकै जोखिमपूर्ण छन् । आगलागी भईहाले नियन्त्रणका साधन पर्याप्त नहँदा थप समस्या हुने गरेको छ ।

पाँचथरमा पछिल्लो तीन आर्थिक बर्षमा १ सय ४१ वटा आगलागीका घटना भएका छन् । यि घटनामा ६ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षमा नै २९ वटा आगलागीका घटना भएका छन् । शुक्रबार भएको घटना बाहेक तेह्रथुमममा पछिल्लो तीन आर्थिक वर्षमा ७७ वटा आगलागीका घटना भएका छन् । चालु आर्थिक वर्षमा १२ वटा घटना भइसकेका छन् । हिउँदमा पानी नपरेकाले यो पटक आगलागी जोखिम अत्यधिक छ ।

आगलागी भए निभाउन सकस छ । पानीको अभाव छ । सदरमुकाम र बजारमा रहेका दमकल ग्रामीण क्षेत्रसम्म पुग्न निक्कै कठिन छ । स्थानीय तहले प्रभावकारी कदम चाल्न सकेका छैनन् । प्रभावकारी पूर्व तयारी नहुँदा वर्षेनी ठूलो क्षती व्यहोर्नु परेको छ ।

कतै जंगलको आगो गाँउमा पसेर त कतै असावधानीका कारण आगलागी भइरहेको छ । प्रभावकारी पूर्व तयारी गरेर जोखिम न्यूनीकरण तथा क्षति कम गर्नका लागि संघीय सरकारले चाल्ने कदमले मात्रै विपद् जोखिम न्यूनीकरण गर्न सकिएला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *