राजनीति

तितरवितर गठबन्धनः रास्वपा-राप्रपा अब कता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १३ गते २०:५९
तितरवितर गठबन्धनः रास्वपा-राप्रपा अब कता ? (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७९ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पछि लाग्दा प्रतिनिधि सभाका चौथो र पाँचौं शक्तिका रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी घर न घाटको भएका छन् ।

पुस १० गते राजनीतिक सहकार्य परिवर्तन हुँदै गर्दा सबैभन्दा पहिला बालकोट पुगेका राप्रपा र रास्वपा अहिलेको काग्रेस–माओवादी गठबन्धनमा अटेका छैनन् । पार्टी नेतृत्व ओलीको आश्वासनमा लाग्दा अहिलेको अवस्था आएको नेताहरुले बताएका छन ।

पुस १० गते र फागुन १२ गते नेपालको राजनीतिको समीकरण फेरबदलको दिन बने । पुस १० मा तत्कालिन पाँच दलीय गठबन्धन भंग गरेर नयाँ गठबन्धन बन्यो अनि फागुन १२ गते पुसमा बनेको नयाँ गठबन्ध भंग भएर त्यहि पुरानो गठबन्धन ब्युँतियो । अझ त्यसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि थपिएर सशक्त गठबन्धन भयो । पुस १० गते नयाँ राजनीतिक सहकार्य हुँदा बिहानै बालकोट पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले सरकारबाट पाखा लागेका छन् ।

चुनावअघिसम्म सरकारमा नजाने बताउँदै आएका यी दल एकाएक सरकारमा सहभागी भए । प्रतिपक्षीमा बसेर जनताका आवाज उठाउने र सत्तापक्षलाई चेक एण्ड ब्यालेन्स गर्ने बताएका यी दुई पार्टी चुनाव अघिको आफ्नो वाचा भुलेर सत्ताको गुलियो चास्नीमा केही दिन रमाए । छोटो समय सरकारमा बसेका यी दुबै दलले अपजस खेपे र आलोचित बने। सरकारमा सहभागी नहुने आफ्नो वाचा भुलेको भन्दै जनस्तरबाटै प्रश्न उठ्न थालेपछि रास्वपा सभापति रवि लामिछानेले त सरकार भित्र प्रतिपक्षी बन्नेसम्मको गैर राजनीतिक अभिव्यक्ति दिनुभयो ।

सरकारको न्यूनतम साझा कार्यक्रम तय नभएसम्म सरकारमा जान आनाकानी गरेको राप्रपा पृथ्वी जयन्तीमा सरकारले बिदा दिने भनेपछि मन्त्रिपरिषद्‍मा सहभागी भयो । उसले तीन मन्त्री र एक राज्यमन्त्री पायो । माघ ३ गते पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको राप्रपा ३९ दिनमै बाहिरियो ।

बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाका मन्त्री र राज्यमन्त्रीले राजीनामा बुझाए । राप्रपाको ३९ दिनको सत्ता यात्रालाई अपरिपक्व निर्णयको रुपमा हेरिएको छ ।

दुवै दलमा सरकारमा जना नहुँने आवाज ठूलो थियो । पार्टीको बैठकमा अधिकांस नेताहरुले सरकारमा सहभागि नहुन भनेका थिए । तर, सरकारमा सहभागि भए आफू र आफ्नो पार्टीको छवि अझै बढ्ने भनेर उनीहरु सरकारमा गए । आफ्नो सांसद र उपप्रधानसहित मन्त्रि पद नै खारेज भएपछि रास्वपा सभापति लामिछानेले सरकारबाट बाहिरिने निर्णय गर्नुभयो ।

कांग्रेस-माओवादी गठबन्धनले रास्वपा र राप्रपासँगको सहकार्य गर्न चाहेको छैन । एमालेसँगको पुस १० को गठबन्धनका दलहरु माओवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि कांग्रेस(माओवादी गठबन्धनमा लागेका छन । कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन । अब यी दलले राष्ट्रपति निर्वाचनमा के गर्छन र आगामी दिनमा कस्तो निर्णय गर्छन् त्यसले नै नेतृत्वको परिपक्वता परीक्षण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्