Main News

आगलागीले तेह्रथुमको बस्ती नै सखाप (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १३ गते २०:५२
आगलागीले तेह्रथुमको बस्ती नै सखाप (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७९ तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडामा शुक्रबार दिउँसोदेखि सुरू भएको आगलागी १२ घन्टापछि निभ्यो । आगलागीबाट चुहानडाँडास्थित हातिखर्कको तल्लो बस्ती सखाप भएको छ ।

आगलागीमा परी १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगो निभाउने क्रममा एक जना घाइते भएका छन् । आगलागीपछि ९ परिवारका ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । सग्लो घर जलेर पालको बास बनाउँदा विपन्न वर्गको आँखामा आँशु रोकिएका छैनन् ।

हिउँद सकिएर बसन्तको आगमन भइरहेको भएपनि पहाडी जिल्लामा चिसो कम भएको छैन । तर, शनिवार दिउँसो तेह्रथुमको आठराई गाँउपालिका–६ को हात्तिखर्क भन्ने ठाँउमा गर्मी थियो । हावा उत्तिकै चलेको थियो । केही मानिस चाम, त्रिपाल लिन तम्सिरहेका थिए । गाउँलेको अनुहार मलिन थियो ।

नहोस् पनि किन हात्तीखर्कको एउटा बस्ती आगलागीले सखाप भएको थियो । पहाडका पातला घरभएको बस्तीनै खरानी भएपछि पीडित कहाँ बस्ने, के खाने, के मा पकाउने भन्ने चिन्तामा थिए । शुक्रबार लागेको आगोको धुँवा जलेका घरबाट आइरहेको थियो । जंगलमा लागेको आगो गाँउमा पस्दा एकैछिनमा बस्ती सखाप बनाएको थियो । हावा चलिरहेको खरको छाना भएका घरमा छिटो टिप्दा आर्थिक अवस्था कमजोर भएको बस्तीका बासिन्दालाई ठूलो क्षति पुगेको छ ।

जंगलमा लागेको आगो गाँउमा पसेर अनियन्त्रित भएको थियो । एकपछि अर्को गर्दै प्रायः सबै घरमा आगो सल्कियो । आगो निभाउने सम्भावना पनि थिएन । पाँचथर सदुरमुकाम फिदिमबाट दमकल पुगेपनि बाटो नभएकाले गाँउ पस्ने अवस्था थिएन । खानेपानीको समेत अभाव भएकाले क्षण भरमै बस्तीनै खरानी हुन पुग्यो । अहिले स्थानीय सरकार उनीहरूलाई खाली जग्गामा पाल टाँगेर राख्ने व्यवस्थामा जुटेको छ ।

आगलागीबाट माटो र खरले बनेका घर जलेर खरानी भएका छन् । कुखुरा तथा चौपाया जलेका छन् । १४ घरमध्ये ९ घरमा बसोबास थियो । १ करोड ८३ लाख ३३ हजार ८० सय भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *