Main News

मोरङमा लघुवित्तको ऋणले गाउँ नै विस्थापित (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १० गते २०:५३
मोरङमा लघुवित्तको ऋणले गाउँ नै विस्थापित (भिडियो रिपोर्टसहित)

१० फागुन २०७९ मोरङ । लघुवित्तको समस्या विपन्न नागरिकका लागि जीवन र मरण बनेको छ । विना धितो ऋण दिने आश्वासनले तानेका विपन्न समुदाय चर्को ब्याजका कारण विस्थापित नै बन्न थालेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिकाका अधिकांश वडामा यो समस्या छ । कानेपोखरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीकै क्षेत्र हो । उनै मन्त्री चौधरीले नेतृत्व गरेको फर्वार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र मोरङको ५ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले नेतृत्व गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबाटै धेरै पीडित छन् ।

सानातिना आर्थिक गर्जो टार्न या उत्पादनमूलक काममा लगानी गर्न नागरिकलाई सहायता मिलोस् भनेर लघुवित्त संस्था खुलेका हुन् । तर अधिकांश नागरिक अहिले लघुवित्तकै कारण असहाय र निरुपाय बन्नपुगेका छन् । लघुवित्तबाट सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्तिबाट पाइलैपिच्छे ठगिँदा परिवार नै तहसनहस बन्ने अवस्थामा पुगेको छ ।

मोरङको कानेपोखरी गाउँपालिकामा थुप्रै पीडित भेटिन्छन् । कतिसम्म भने हालकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेतृत्व गरेको फर्वार्ड माइक्रो फाइनान्ससम्मले नागरिकलाई मानसिक यातना दिएको पाइएको छ । पूर्व पश्चिम राजमार्ग भन्दा करिव सात किलो मिटर दक्षिणमा कानेपोखरी गाउँपालिका–२ लिम्बू टोल पर्छ ।

यो टोलमा करिव ३५ घर परिवारको बसोबास छ । यहाँका घरैपिच्छेका मानिसले सानो तिनो गर्जो टार्न लघुवित्त संस्थाबाट ऋण लिए । तर अहिले लघुवित्तको ऋण चक्रमा हरेकजसो परिवार फसेका छन् । गाउँमा ताल्चा नलागेको कुनै घर छैन । यतिसम्म कि ऋण तिर्न नसकेर ब्याज असुल्ने कर्मचारीबाट जोगिन भाग्न थालेका छन् ।

समयमै ऋण तिर्न नसक्दा घरभित्र पसेर लघुवित्तका कर्मचारीले काठको र्याक, बिम तथा ग्याँस सिलिण्डर समेत उठाउने गरेका छन् । कतिपय स्थानीयले एक दर्जन बढी लघुवित्तबाट ऋण लिइएका छन् । ऋण तिर्न मिटर ब्याजको सहारा लिएका कारण भएका घरपनि उनीहरुलाई अब जोगाउन मुस्किल परेको छ ।

लघुवित्तबाट लिएको ऋणको ब्याज समयमा चुक्ता गर्न नसकेपछि लघुवित्तले ब्याज पनि सावाँमा जोड्ने गर्छ । यसरी छिटो छिटो ब्याज समेत सावाँमा जोडिंदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई पनि थाहा छैन । ऋणको बोझले धेरैको सानो संसार थिचिएको छ । लघुवित्तबाट लिएको ऋणको तनाबले विरामीले पनि सुख पाएका छैनन् ।

कानेपोखरीका प्रायस् सबै वडामा नेरुडे, फरवार्ड, नेपाल सारडा, अभियान, इफिनिटी, स्वाबलम्बन, समिट, स्वाबलम्बन लगायतका करिब डेढ दर्जन संस्थाले समूह बनाई ऋण लगानी गरेका छन् । ऋणीले पनि पैसा पाइन्छ भनेपछि जसरी पनि लिने, लघुवित्तले ऋणीको आवश्यकता र अवस्था नहेरी ऋण दिने र राष्ट्र बैंकले बेलैमा ग्राहकले लिन सक्ने ऋणको सीमा नतोेक्ने र कर्जा सूचना लिनुपर्ने बाध्यात्मक व्यवस्था नगर्नु नै अहिले यो परिस्थिति सिर्जना भएको हो । तर मन्त्रीदेखि सांसदसम्म जानिफकार हुँदा पनि यसको प्रत्यक्ष असर ऋणीमा परिररहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *