राजनीति

ओली–प्रचण्ड सम्बन्ध : कहिले तिक्तता, कहिले सुमधुर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १० गते २०:३२
ओली–प्रचण्ड सम्बन्ध : कहिले तिक्तता, कहिले सुमधुर (भिडियो रिपोर्टसहित)

१० फागुन २०७९ काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीहरु र तिनका नेताका सम्बन्ध सधैं एकैखाले रहँदैन । कहिले घाँटी नै जोड्छन त कहिले देख्दा पनि बोल्दैनन् ।

मिल्दा चाटाचाट र नमिल्दा काटकाट भन्ने उक्ति कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताबीच बेलाबेला हुने टुटफुट र दन्तबझानलाई बुझ्न प्रयोग गर्दा फरक पर्दैन । अहिले नेपाली राजनीतिको केन्द्रमा रहेका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रका अध्यक्षबीचको सम्बन्धमा देखिने आरोह अवरोह पनि त्यस्तै छ । जसले बेला बेला राष्ट्रिय राजनीतिको कोर्ष नै बदलेको छ ।

जतिबेला पुष्पकमल दाहाल प्रचण्ड सशस्त्र युद्धमा थिए, एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्ड र माओवादी आन्दोलनकै सबैभन्दा कटु आलोचक थिए । शान्तिप्रक्रियामा आइसकेपछि पनि माओवादी र प्रचण्डमाथि ओलीको तिखो शाब्दिक बाण बर्षिरह्यो । उसो त, माओवादी अध्यक्ष प्रचण्डले पनि गणतन्त्रको आन्दोलनका बेला बयलगाढा चढेर अमेरिका पुगिन्न भन्दै अभिव्यक्ति दिने ओलीलाई गणतन्त्र र परिवर्तन विरोधीको बिल्ला भिराइरहे । ओली र प्रचण्ड सम्बन्धमा विछोडमात्र छैन कहिलेकाहीँ सुमधुर मिलन पनि छ । नेताहरुबीच पनि आरोह अवरोह सामान्य रुपमा लिनुपर्ने ति दलका नेताहरु ठान्छन् ।

ओली र प्रचण्ड सम्बन्धमा उतार–चढावका केही प्रतिनिधि घटना हेरौंः
–२०७१ मघ २१ मा प्रचण्ड नेतृत्वको १९ दलीय मोर्चाले एमाले अध्यक्ष ओलीको मानसिक सन्तुलन ठिक नभएको आरोप लगाउँदै उपचारको माग गर्यो ।
–२०७२ असोज २४ मा तिनै प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्री बने ।
–२०७३ साउन ७ गते प्रचण्डले ओलीविरुद्ध अविश्वासको प्रस्ताव लगे । जसकारण ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्‍यो ।
–ओलीले संसदमा माओवादीलाई ुमाकाफुइँु भन्दै गरेको भाषण पनि चर्चामा रह्यो
–२०७५ जेठ ३ एमाले र माओवादी एकीकरण । ओलीले प्रचण्ड र आफूलाई एउटै विमानको दुई पाइलटको रूपमा परिभाषित गरे ।
–तर त्यो विमान धेरै चलेन, पार्टी विभाजन भयो ।
–२०७९ पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार । तर, एमालेलाई राष्ट्रपति दिन प्रचण्ड नामञ्जुर

पुस १० मा हार्दिक रहेको ओली–प्रचण्ड सम्बन्धमा अहिले चिसोपना छाएको छ । तर, एमाले नेताहरु बाहिर भनिएजस्तो उहाँहरुबीच दूरी नरहेको दाबी गर्छन् ।

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने भनाइ प्रचण्ड र ओलीका लागि ठ्याक्कै मेल खान्छ । कहिले अत्यन्त तिक्तता र कहिले गज्जबको आलिंगन । कुन बेला उनीहरु मिल्छन, कुन बेला जुध्छन् पत्तै हुन्न । अहिले देखिएको चिसोपना फागुन १३ मा राष्ट्रपति मनोनयन पछि हट्छ वा अझ गहिरिन्छ चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्