Main News

राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : कोइराला

२०७९ फागुन ९ गते १३:२८
राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : कोइराला

९ फागुन २०७९ सिन्धुली । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउनुभएको छ ।

प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गर्नुभएको हो । पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उहाँको भनाइ थियो ।

नेता कोइरालाले भन्नुभयो, “राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस् ।” दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक वर्षमा हुनुपर्ने पार्टीका काम हुनसकेका छैनन्,सङ्गठनलाई मजबुत बनाउन सकिएन भने आगामी निर्वाचनको नतिजा अर्कै हुनेछ त्यसैले पार्टीलाई बलियो बनाउनु पर्दछ ।” लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, शुसासन, पारदर्शिता हुनाका साथै दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *