Main News

रस्साकस्सी राष्ट्रपतिको : को होला स्वीकार्य? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ८ गते २१:०२
रस्साकस्सी राष्ट्रपतिको : को होला स्वीकार्य? (भिडियो रिपोर्टसहित)

८ फागुन २०७९ काठमाडौं । भावी राष्ट्रपतिका लागि अहिले राजनीतिक दलबीच रस्साकस्सी चलिरहेको छ । राष्ट्रपति पद हत्याउन मुख्यतः एमाले र कांग्रेसले कसरत जारी राखेका छन् । तर राष्ट्रपति पदका लागि नेकपा माओवादी केन्द्र निर्णायक शक्ति हो । यसका लागि दुवै दलको जोड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फकाउनमा केन्द्रित छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसलाई ग्रिन सिग्नल दिनुहुन्छ, त्यही पार्टीको उम्मेदवार राष्ट्रपति बन्ने निश्चित छ । यही ग्रिन सिग्नल पाउन एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बालुवाटार दौड जारी छ ।

आइतबार बेलुकी देउवा नेतृत्वमा कांग्रेस टोली बालुवाटार पुग्यो । राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्दै आउनु भएका प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहयोगको आश्वासन दिनुभयो । कांग्रेसले अवसर पाए राष्ट्रपति पदमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाको नाम चर्चामा छ । तर, प्रचण्ड साँच्चै कांग्रेसका पक्षमा उभिए सभापति देउवा स्वयं नै राष्ट्रपति बन्ने चर्चा पनि शुरु भएको छ । कांग्रेसले त राष्ट्रपति पदमा सशक्त दाबी दोहोर्याइरहेको छ ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनय दर्ताको कार्यतालिका छ । समय घर्किँदै जाँदा माओवादी केन्द्र एमालेलाई साथ दिएर अहिलेको गठबन्धन जोगाउने वा कांग्रेसलाई साथ दिएर पुस १० अघिको पुरानो गठबनधन ब्यूँताउने भन्ने दोधारमा फसेको छ ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार एमाले सोही दिन राष्ट्रपति आफुहरुले पाउने सहमति बनिसकेकाले त्यसमा दायाँ बायाँ हुन नहुनेमा अडिग छ । एमालेबाट राष्ट्रपतिमा सुवास नेम्वाङ, इश्वर पोख्रेलको नाम चर्चामा छ । एमाले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई नै माओवादीले साथ दिनेमा ढुक्क छ ।

अर्को तर्फ गैरदलीय वा स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चासमेत भइरहेको छ । यो बीचमा एकजना भारतीय विश्लेषकले त सक्रिय राजनीतिमा नरहेका ४ जनाको नाम नै मेन्सन गरेर नेपाललाई गैरदलीय राष्ट्रपति बनाउन सुझाव दिएका छन् ।

राष्ट्रपति नेपालमा सेरेमोनियल पद हो । तर, अहिले दलहरुले प्रतिष्ठाको विषय बनाउँदा राष्ट्रपतिको निर्वाचन पेचिलो बन्दे गएको छ । राष्ट्रपतिको जारी रस्साकस्सीमा कसले बाजी मार्ला रु यो चाँहि चासोको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *