राजनीति

ज्ञानेन्द्र शाहले राखेको सहकार्य प्रस्ताव दलहरुलाई छ त मञ्जुर ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ७ गते २०:३५
ज्ञानेन्द्र शाहले राखेको सहकार्य प्रस्ताव दलहरुलाई छ त मञ्जुर ? (भिडियो रिपोर्टसहित)

७ फागुन २०७९ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शक्तिमा आउने प्रस्ताव गर्नुभएको छ । उहाँले मुलुको समृद्धिका लागि दलहरुले राजसंस्थासँग सहकार्य गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्रलाई पुनः शक्तिमा फर्किने आश र दलहरुसँग सहकार्यको प्रस्ताव गर्ने सामर्थ्य कसरी जुटिरहेको छ ? के दलहरु तयार छन् ?

२०६५ जेठ १५ गते शान्तिपूर्वक नारायणहिटीबाट नागार्जुन सारिएका पूर्वराजा ज्ञानेन्द्र शाह आम नागरिकको हैसियतमा हुनुहुन्छ । तर विभिन्न समयका अभिव्यक्ति, चाडपर्व वा दिवसहरुमा दिने शुभकामना सन्देशले पूर्वराजा एउटा शक्ति केन्द्र नै हो कि भन्ने भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ । उहाँ आफैँमा चाँहि राज्यको कुनै अंग हुँ कि भन्ने उद्भ्रम देखिन्छ । त्यसैले उहाँका अभिव्यक्ति तीनै भ्रान्तिका परिणाम बन्ने गर्छन् ।

यतिबेला मुलुक तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ, राजतन्त्रलाई घुँडा टेकाउने नेकपा एमाले, नेकपा माओवादी केन्द्रदेखि राजतन्त्र बोक्ने राप्रपासम्मका शक्तिहरु सरकारमा छन् । शासकीय प्रणाली र आफ्नै राजनीतिक धारमा स्पष्ट भइनसकेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको सहयोगीका रुपमा छ ।

यहीबेला प्रजातन्त्र दिवसको अवसर पारेर एक सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले अब राजसंस्था र राजनीतिक दलहरु आपसी सहकार्यमा अघि बढ्ने प्रस्ताव गर्नुभयो ।

राजतन्त्रलाई बोक्ने दल वा राजावादी नारा फलाक्ने केही समूह मुलुकमा नभएका होइनन् । तर २ सय ४० वर्ष लामो राजतन्त्र मुलुकका लागि हितकर नभएको निष्कर्षसहित २०६२र०६३ को जनआन्दोलनले गणतन्त्रको पादुर्भाव गराएको थियो र त्यसपछि पुनर्स्थापनाको कुनै गुञ्जायस नराखेर राजतन्त्र सदाका लागि बिदा गरिएको थियो ।

त्यसयता डेढ दशक लामो राजनीतिक यात्रामा कयौँ आरोह अवरोह भए पनि राजसंस्थाकै अभाव महसुस हुने गरी घटनाक्रम सुरु भएको छैन । यस्तो अवस्थामा दुर्गा प्रसाईँ वा अरु कुनै व्यक्तिले आयोजना गरेको उत्सवमा सहभागी भएकै रन्कोमा पूर्वराजा ज्ञानेन्द्रलाई पुनः शक्तिमा फर्किने लालसा पलाएको छ ।

विगत १५ वर्षमा अधिकतम लोकतन्त्रको अभ्यास गरिसकेको मुलुक पुनः कुनै एउटा परिवारबाट शासित हुन तयार छैन । धर्म वा राष्ट्रवादको हतियार देखाएर फेरि मुलुकको नेतृत्व गर्छु भनेर राजनीतिक पासा खेल्न खोज्नुले उहाँको अपरिपक्वतालाई थप उजागर गरेको छ ।

ज्ञानेन्द्र शाह प्रत्येक नेपालीजस्तै राजनीतिक, सामाजिक वा वैचारिक रुपमा स्वतन्त्र हुनुहुन्छ । उहाँको बिदाइकै उपलब्धी भनेकै यही हो कि, शासकहरुमाथि प्रश्न उठाउन पाइन्छ, आलोचना गर्न पाइन्छ, विमत्ति राख्न पाइन्छ । तर पूर्वराजाबाट हरपल आफ्नै उपस्थितिको याचना गरिरहने काम किन भइरहन्छ त ?

पछिल्लो समय मुलुकमा अवश्य निराशा छ । यो निराशा त्यो राजसंस्था, त्यो व्यवस्था, ती व्यक्ति, ती अनुहार वा ती प्रणालीहरुको दुःखान्तप्रतिको होइन । यो निराशा अहिलेकै आशालाग्दा नेताहरुबाट भएको निराशाजनक व्यवहार र निराशाजनक शैलीका कारण बढेको हो । लोकतन्त्रको अधिकतम अभ्यास, संविधानको अधिकतम पालना र दलको अधिकतम इमान्दारिताले मात्रै यो निराशाको अन्त्य गर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्