Main News

सेना दिवस : व्यवसायिक काममा हात हालेपछि नेपाली सेना विवादमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ६ गते १८:२६
सेना दिवस : व्यवसायिक काममा हात हालेपछि नेपाली सेना विवादमा (भिडियो रिपोर्टसहित)

६ फागुन २०७९ काठमाडौं । साँढे चार शताब्दीको इतिहास बोकेको नेपाली सेना मुलुकको सार्वभौमिकता र सीमा रक्षाको पहरेदार पनि हो ।

नेपालको इतिहासमा सबैभन्दा अनुशासित र जनतामा समर्पित सेनाले टुँडिखेलमा विशेष समारोहबीच आफ्नो स्थापना दिवस मनाएको छ । मुलुकको सुरक्षाको पहरेदार सेनाले व्यवसायिकक काममा हात हालेपछि विवादमा तानिने गरेको छ । के सेनाले ठेक्का पट्टाको काम गर्ने हो ? भन्ने प्रश्न उब्जिन थालेको छ ।

नेपाली सेना दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । समारोहमा नेपाली सेनाले विभिन्न सैनिक कौशल प्रदर्शनी गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका संवैधानिक आयोग प्रमुखहरुको सहभागिता थियो ।

त्यस्तै भारतीय सेनाका पूर्व प्रमुखहरुलाई समेत बोलाइयो । राजा वीरेन्द्रको पहलमा तत्कालीन प्रधानसेनापति सत्चित शमशेर राणाको कार्यकाल विक्रम सम्वत २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईंसमेत गरेको छ ।

बढाईं कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७९ को आकृतिसमेत प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो ।

सेनाको व्यवसायीक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सूट टू किल, कुकलद, रौद्र ताण्डप, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको थियो । सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्लेसमेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारकोसमेत प्रदर्शन गरिएको थियो ।

सेनाको बढाईं हेर्न टुँडिखेल वरपर सर्वसाधारणहरुको घुँइचो लागेको थियो । नेपालको इतिहासमा विक्रम संवत् १८१९ मा नेपाली सेनामा ५ वटा कम्पनी स्थायीरुपमा खडा गरिएको हो । सोही वर्षलाई आधुनिक नेपाली सेनाको स्थापनाको सुरुवाती वर्षका रुपमा लिंदै महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आइएको छ । तर वर्तमान सेनाको सुरुवात १६१६ सालमा गोर्खा लिगलिगकोटका राजा द्रव्य शाहले भगीरथ पन्तलाई सेनापति बनाई खडा गरेको सैनिक दलबाटै भएको मानिन्छ ।

यसर्थ त्यही मिति र स्थानमा खडा भएको नेपाली सेनाको उमेर ४६३ वर्ष पूरा भएको छ। वर्तमान नेपाली सेनाले पृथ्वीनारायण शाहका बेला सुरुमा तिलंगा, नुवाकोट विजयपछि गोरखाली सेना, चन्द्रशमशेर राणा प्रधानमन्त्री भएको समयमा नेपाली सेना, राजा महेन्द्रका पालामा शाही सेना, राजा वीरेन्द्रका पालामा शाही नेपाली सेना र दोस्रो जनआन्दोलनपछि पुनः नेपाली सेनाको नाममा साढे ४ शताब्दी पार गरिसकेको छ। राज्यको आवश्यकताका आधारमा नेपाली सेनाको विस्तार र विकास हुँदै आएको छ ।

पछिल्लो समय विकास निर्माणमा पनि सेनाले महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । तर विकासको काममा सेनालाई लगाउँदा व्यावसायीकता कमजोर हुँदै गएको भन्ने आरोप पनि लाग्न थालेको छ । सुरक्षामा खटिनुपर्ने सेनाले ठेक्का पट्टाको काम गरेर मर्यादा भुलेको आरोप पनि लाग्दै आएको छ । दुई ठुला छिमेकी भारत र चीनबीच सामरीक महत्व रहेको नेपालको सीमा र जनताको रक्षकालागि खटिने सेनालाई आधुनिक र थप सुसंगठित बनाउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *