बारम्बार आफ्नै वाचा विर्सिँदै प्रधानमन्त्री प्रचण्ड (भिडियो रिपोर्टसहित)

५ फागुन २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कथनी र करणीमा भिन्नता छ । पटकपटकको प्रतिबद्धताबाट पछि हट्ने र आफैले गर्दिन भनेका कामहरु दोहोर्याइरहने काम उहाँबाट भइरहेको छ । यतिबेला प्रधानमन्त्रीका रुपमा रहँदा पनि प्रचण्ड आफ्नै प्रतिबद्धता लत्याउँदै हुनुहुन्छ ।
चुनावी रौनक सुरु हुँदैगर्दा गत भदौ २४ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको थियो, ‘म चितवनबाटै चुनाव लड्छु, अन्यत्र जान्न।’ बाहिर जिल्ला गएर चुनाव लड्दा नकारात्मक सन्देश जाने भन्दै प्रचण्डले थप्नु भएको थियो, ‘चितवनका जनताको चेतना र भावनाप्रति विश्वास छ, अन्यत्र जान्न ।’ तर उहाँ चुनाव लड्न गोरखा पुग्नुभयो ।
मंसिर ४ गतेको निर्वाचनको संघारमा एक टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले कुनै पनि मूल्यमा कांग्रेस नेतृत्वको गठबन्धन नछोड्ने कबुल गर्नुभयो । खासगरी नेकपा एमालेसँग त कुनै पनि हालतमा गठनबन्धन नगर्ने उहाँको दाबी थियो । प्रचण्डले भन्नुभएको थियो, ‘मलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीबाट आयो भने पनि म अस्वीकार गर्छु ।’
पुस १० गतेका दिन प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धन छोडेर बालकोट पुग्नुभयो र एमालेकै साथ सहयोगमा प्रधानमन्त्री बन्नुभयो ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रचण्डले उद्घाटन र शिलान्यासमा समय व्यतित गर्ने रहर नभएको बताउनुयो । दुई–दुई कार्यकाल उद्घाटन र शिलान्याशमा बिते पनि खास नतिजा नदेखिएको महसुस गरेर हुनुपर्छ, तेस्रो कार्यकाल सुरु गर्दा उहाँलाई उद्घाटन र शिलान्याशमा रुचि देखिएन । तर आफ्नै यो वाचामा पनि प्रचण्ड अडिग रहनु भएन । यो कार्यकालमा प्रचण्डले हालसम्म सबैभन्दा धेरै गरेको काम नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेट हो भने, ओलीसँगको भेट बाहेक चाँहि उद्घाटन वा शिलान्यास नै हो ।
दुईदुई कार्यकाल प्रधानमन्त्री बनेर केही गर्न सकिनँ भन्ने थकथकी सहित तेस्रो पटक सिंहदरबार पुगेका प्रचण्डको दैनिकी बालुवाटार टू बालकोट र बालकोट टू बालुवाटार भइरहेको छ ।
हालै कर्णाली प्रदेश सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा सार्वजनिक बिदा दियो ।
त्यसको केही दिनमा बागमती प्रदेशले पनि सोही दिवसका लागि बिदा दिने निर्णय गर्यो । बिदाको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डलाई लाग्यो, ‘वास्तवमा बिदा धेरै भए । त्यसैले अब प्रदेशले यसरी मनोमानी रुपमा दिएका बिदा स्वीकार्य हुन्नन् ।’
माघ २४ गते प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकमा प्रचण्डले भन्नुभएको थियो, ‘हाम्रा सरकारी बिदा धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, यसबारे पुनर्विचार आवश्यक छ ।’ सचिवालयले जारी गरेको प्रेस नोटमै प्रचण्डको यस्तो अभिव्यक्ति कोट गरिएको थियो ।
तर प्रचण्ड स्वयंले फागुन एक गते सार्वजनिक बिदा दिनु भयो । पार्टी अध्यक्षका रुपमा मात्रै रहँदा प्रचण्ड आफ्नो प्रतिबद्धतामा अडिक रहन सक्नुभएन होला, राजनीतिक परिस्थिति फेरियो होला । तर प्रधानमन्त्री नै बनिसक्दासमेत यति सामान्य प्रतिबद्धता पूरा गर्न किन चुकिरहनु भएको छ ?
त्यसो त प्रचण्डले मुलधारको राजनीतिक यात्रामा यस्ता अनेकौँ प्रतिबद्धता व्यक्त गर्नुभएको छ, जुन क्षेणभरमै उल्टिएका छन् । अर्थात् बारम्बार झुट साबित भएका छन् ।
प्रतिक्रिया