Main News

शीतल निवासमा विदेशी नजर, तीन ठूला राष्ट्रको चलखेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ५ गते २१:२७
शीतल निवासमा विदेशी नजर, तीन ठूला राष्ट्रको चलखेल (भिडियो रिपोर्टसहित)

५ फागुन २०७९ काठमाडौं । नेपालको राजनीतिमा फेरि एकपटक बाह्य शक्ति हावी हुन खोजेका छन् । राष्ट्रपति निर्वाचनको मिति नजिकिदै जाँदा नेपालमा ‘माइक्रो मेनेजमेन्ट’ तहमै उत्रिएका तीन ठूला राष्ट्रको चलखेल बढ्न थालेको छ ।

यहाँको राजनीतिमा सधैं चासो राख्ने भारत मात्र होइन, चीन र अमेरिका पनि हावी हुन खोजेका छन् । यी तीन मुलुक तीन पात्रलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लालयित छन् ।

फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । मुख्यतः दुई दलले राष्ट्रपतिमा आकांक्षा राखेका छन् । कांग्रेस र एमालेले आ–आफ्ना उम्मेदवारको तयारी गरिरहँदा माओवादी केन्द्र निर्णायक बनेको छ । यो राजनीतिक खेलमा दलहरु मात्र छैनन, यसपटक बाह्य शक्ति पनि खुलेरै लागिपरेको छ ।

नेपालको राजनीतिमा सधैं आफ्नो चाहना पुरा गर्ने मनशाय राख्ने भारत यसपटक चीन र अमेरिकाको प्रत्यक्ष संलग्नतामा असन्तुष्ट छ । हालै मात्र भारतीय विदेश सचिव विनयमोहन क्वात्राको दुई दिने काठमाडौं बसाइ द्विपक्षीय हित र वार्ताभन्दा पनि राष्ट्रपति कसलाई बनाउनेमै केन्द्रित बन्यो ।

समकक्षी वार्तालाई औपचारिकतामा मात्र राखेर क्वात्राले भारतीय संस्थापनको लाइन अनुसार नेपालमा राष्ट्रपति उम्मेदवार को हुनेभन्नेमा ठाडो हस्तक्षेप गर्न खोजेको खुलेको छ । दिल्लीले काठमाडौंमा राजनीतिक हस्तक्षेपका लागि कांग्रेस–एमाले–माओवादी केन्द्र मात्र होइन, मधेस केन्द्रित दलका नेताहरुलाई समेत प्रयोग गर्ने गरेको छ । नेपालीको संविधान जारी गर्ने ताका २०७२ असोजमा भारतको असन्तुष्टिको अगुल्टो मधेस केन्द्रित दलहरुले नै बोकेका थिए ।

अहिले पनि ठूला दलहरुबीच राष्ट्रपतिमा रस्साकस्सी हुँदा भारत त्यसको फाइदा उठाउन चाहन्छ । अमेरिका र चीन नेपाली राजनीतिमा प्रत्यक्ष जोडिने प्रयासमा रहँदा दिल्ली काठमाडौं आफ्नो नियन्त्रणभन्दा बाहिर छैन है भन्ने सन्देश दिन चाहन्छ । त्यसकालागि नेपाल राष्ट्रपति आफूले भनेकै व्यक्ति हुनुपर्ने उसले यहाँका नेताहरुलाई प्रष्ट सन्देश दिएको छ ।

भारतले उभ्याएका दुई पात्र
महन्थ ठाकुर

महन्थ ठाकुर, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष हुनुहुन्छ । भारतीय संस्थापनसँग नजिक मानिएका ठाकुर उसको पहिलो नम्बरको ‘क्याण्डिडेट’ हुनुहुन्छ । ठाकुरका नाममा कांग्रेसले अर्को व्यक्ति उभ्याउन सक्दैन, आफ्नै पार्टीबाट बन्ने उम्मेदवारमा सहमति नजुट्दा ठाकुर नै विकल्प बन्न सक्ने कांग्रेसको बुझाइ छ ।

एमाले पनि आफूले उभ्याउने उम्मेदवारमा माओवादी केन्द्रले धोका दिनसक्ने आकलनमा रहेकाले ठाकुरलाई मान्न तयार बन्न सक्छ । आफैंले प्रस्ताव गरेको देखाउन पनि ओलीले गत माघ २७ गते संसद बैठकपछि ठाकुरलाई आफ्नै गाडीमा बालकोट लगेर राष्ट्रपति प्रस्ताव गर्नुभएको थियो । दुई ठूला दल ठाकुरलाई राष्ट्रपति बनाउन सहमत बने माओवादी केन्द्र सहजै सहमत हुन्छ । त्यसैले भारतले ठाकुरकै नामलाई पहिलो नम्बरमा राखेको छ ।

कृष्णप्रसाद सिटौला
कांग्रेस नेता कृष्णप्रसाद सिटौला, गिरिजाप्रसाद कोइरालाकै पालादेखि भारत निकट मानिनुहुन्छ । नेपालको राजनीतिमा सिटौला भारतको ‘कार्ड’ बन्दै आउनुभएको छ । कांग्रेसले पार्टीभित्रैबाट उम्मेदवार बनाउन चाहे भारतले सिटौलालाई नै अघि बढाउनुपर्ने आफ्नो चाहना राखिसकेको छ । नेताहरुसँगको गोप्य छलफलमा विनयमोहन क्वात्राले यो नाम विकल्पमा दिनुभएको छ ।

यी दुई व्यक्तिमध्ये एकजना जुनसुकै हालतमा राष्ट्रपति बनाउनैपर्ने दिल्ली दबाब कायमै छ । यसको कारण अमेरिका र चीनलाई नेपाल नीतिमा ‘तिमिहरु नबोल है’ भन्ने सन्देशपनि दिल्लीले दिन खोजेको स्रोत बताउँछन ।

अमेरिका र चीनको एउटै चाहना– सुवास नेम्वाङ
भारतले जस्तै अमेरिका र चीन पनि नेपाली राजनीतिमा माइक्रो म्यानेजमेन्ट तहमा उत्रिएको छ । धर्मनिरपेक्षको वकालत गर्दै आएका एमाले उपाध्यक्ष सुवास नेम्वाङ पश्चिमाहरुका लागि उपयुक्त पात्र हुनसक्ने आकलनमा उनीहरु रहेको बताइन्छ ।

एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउँदा भविष्यमा नेपालको हरेक नीतिमा आफ्नो बर्चश्व कायम रहने विश्वास पश्चिमाहरुको छ । त्यस्तै कम्युनिष्ट राजनीतिमा सक्रिय नेम्वाङ ठाकुर वा सिटौलाभन्दा उपयुक्त पात्र रहेकाले चीन पनि यो नाममा सहमत बनेको स्रोतहरु बताउँछन् ।

राष्ट्रपति नेपालको तर, शक्ति केन्द्रहरु आ–आफ्नो ‘इन्ट्रेस्ट’ लाद्न सक्रिय बनेका छन् । त्यसमा पहिलो कमजोरी नेपाली नेताहरुकै हो, यदि नेता बलियो र अडान राख्न सक्ने भएका भए विदेशी शक्तिले यसरी हस्तक्षेप गर्दैन थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *