राजनीति

अनेरास्ववियुमा एमालेको ‘चितवन मोडल’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ३ गते २१:२५
अनेरास्ववियुमा एमालेको ‘चितवन मोडल’ (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ काठमाडौं । नेकपा एमालेले दशौँ महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टीभित्रैका आलोचकहरुलाई कमजोर पार्ने मात्र होइन सिध्याउने प्रयास गरेको भनेर टिप्पणी भयो ।

मतदानबाटै नयाँ नेतृत्व चयन गरिए पनि अध्यक्ष केपी शर्मा ओलीका आलोचकहरुलाई पाखा लगाउने कोसिस भयो । यतिबेला एमालेको सबैभन्दा बलियो भ्रातृ संस्था अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको नेतृत्व चयनमा पनि पार्टीबाट भएको हस्तक्षेपले नयाँ नेतृत्व पार्टीकै नेतृत्व चयनको मोडलमा आउने हो कि भन्ने शंका उब्जिएको छ ।

गत वर्षको मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा नेकपा एमालेले पार्टीको नेतृत्व चयनमा ‘चितवन मोडल’ स्थापित गर्‍यो ।
चितवनमा सर्वसम्मतिका नाममा केपी शर्मा ओलीलाई नै पुनः अध्यक्ष बनाउने र ओलीविरुद्ध लड्नेलाई रोक्ने प्रयास गरिएको थियो । यस प्रयासको चौतर्फी आलोचना भएपछि एमालेले मतदान प्रक्रिया चाँहि पूरा गर्ने तर मत भने अध्यक्ष पदमा ओलीलाई र अन्य पदमा ओलीकै क्याम्पभित्रका व्यक्तिलाई मात्र हाल्ने विधि तयार गर्‍यो ।

अध्यक्ष पदका अर्का उम्मेदवार भीम रावल हुनुहुन्थ्यो । रावललाई प्रचार गर्न अवरोध मात्र गरिएन, ओली निकटहरुले ओलीलाई मतदान गर्न होइन बरु रावललाई मतदान नगर्न पर्चा बाँढे ।

यो मोडल झण्डै उत्तर कोरियासँग मेल खाने गरी तयार भयो । तर प्रतिस्पर्धात्मक लोकतन्त्रको दुहाई दिने नेकपा एमालेले लोकरिझ्याईँका लागि भए पनि मतपत्रमा ओलीको मात्र नाम राख्न सकेन ।

उत्तर कोरियामा हरेक ५ वर्षमा निर्वाचन हुन्छ । ‘सुप्रिम पिपुल्स असेम्ब्ली’ एसपीए भनिने सर्वोच्च जनसभाका लागि हुने निर्वाचनमा सतप्रतिशत मत खस्छ । तर मतपत्रमा भने शासक किम जोङ उनले तोकेको एकमात्र उम्मेदवारको नाम हुन्छ । एमालेले झण्डै यही मोडल चितवनमा अंगिकार गर्ने प्रयास गर्यो तथापी आफ्नै नयाँ तरिका अपनायो र त्यो नयाँ तरिका ‘चितवन मोडल’ बन्यो ।

अहिले यो पार्टीको भ्रातृ संगठन अनेरास्वविुयको २३औँ महाधिवेशन चलिरहेको छ । महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । तर महाधिवेशन सुरु नहुँदै पार्टीले नेतृत्वका आकांक्षीहरुलाई प्रतिबन्ध लगाउने गरी ‘प्यानल’ निषेध गरेको छ । अध्यक्ष लगायत पदाधिकारी र अन्य पदका आकांक्षीले विभिन्न एजेण्डा अघि सारेर महाधिवेशनलाई जिवित तुल्याउने प्रयास गरे पनि पार्टीको हस्तक्षेपका कारण अनेरास्ववियु पनि चितवन मोडलमै नेतृत्व चयनका लागि अभिषप्त बन्नेछ ।

तीन दिनमा सक्ने गरी तयार गरिएको अनेरास्ववियुको महाधिवेशन तालिकाभित्र विभिन्न विषयमा छलफल भइरहेको छ, हुनेछ पनि । तर जनसंगठनहरु नियन्त्रण गर्न पार्टीले बनाएको हाइकमाण्डले जे चाह्यो त्यो नै जनसंगठनहरुले शिरोपर गर्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ । पार्टीले दिएको निर्देशनअनुसार नेतृत्व चयन हुनेछ, मतदान भइहाल्दासमेत पार्टी नेृतत्वप्रतिको बफादारी नै प्रकट हुनेछ ।

समग्रमा भन्दा पार्टी अध्यक्ष ओलीप्रति अधिक भक्तिभाव प्रस्तुत हुनेछ । नेतृत्व चयनका लागि पार्टीको हाइकमाण्डले रोजेकै व्यक्तिको नाममा छलफलको औपचारिकता वा मतदानकै समेत औपचारिकता पूरा गरिन सक्छ । फाइनल गरिएको नामको फेहरिस्तमा सर्वसम्मत्तिको नाम दिइने वा तोकिएका व्यक्तिलाई उम्मेदवार बनाएर चितवन मोडल लागू गरिने सम्भावना छ ।

हुन त सर्वसम्मति लोकतन्त्रको सबैभन्दा उत्तम विधि हो । सर्वसम्मत्ति शब्दले बहुमत र अल्पमतका कारण हुने चिसोपन र अघोषित निषेधलाई पनि अन्त्य गर्छ । तर महाधिवेशनको माहोलसँगै जुर्मुराएका नेतृत्वका आकांक्षीहरुको भावना समेटिन्छ त ? महाधिवेशनका लागि तय गरिएको ‘गुणस्तरीय शिक्षा, गतिशील संगठन’ को नारा जिवित रहन सक्छ त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्