Main News

स्थापना दिवसमा सार्वजनिक बिदा आवश्यक छ ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ३ गते २१:०९
स्थापना दिवसमा सार्वजनिक बिदा आवश्यक छ ? (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ गुल्मी । सार्वजनिक बिदालाई प्रतिष्ठाको विषय बनाउने प्रचलन बढ्दै जाँदा पूरै देश ठप्प पार्ने सार्वजनिक बिदाको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।

प्रायःजसो बिदालाई खुसीको अवसरमा गणना गर्ने गरिएको भएपनि विकासशील मुलुकमा बिदा धेरै हुँदा आर्थिक रूपमा मुलुकलाई नै घाटा हुने अर्थविदले बताउँदै आएका छन् । तर, संघीय, प्रदेश र स्थानीय सरकार भने निरन्तर बिदा दिएर जग हँसाइरहेका छन् ।

फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दियो । २ गते सरकारी कार्यालय खुले । तर, लुम्बिनी प्रदेशमा भने फागुन ३ मा प्रदेश सरकार स्थापना दिवस भन्दै फेरि बिदा दिइयो । यो साता मात्रै शनिवारलाई जोड्ने हो भने तीन दिन त बिदा मात्रै छ ।

लुम्बिनी प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्य हो । उत्तर प्रदेशले वर्षभरि कुल २४ दिन बिदा दिने गरेको छ । भारतकै दिल्लीमा पनि १६ दिन मात्रै बिदा छ । यी प्रदेशसँग तुलना गर्ने हो भने दुवै प्रदेशमा स्थापना भएको अवसरमा बिदा दिने गरिएको पाइँदैन ।

तर, यहाँ भने स्थापना दिवसदेखि शोक मनाउन भन्दै बिदा दिने चलन छ । बिदा घटाउनुपर्ने माग प्रधानमन्त्रीबाटै उठिरहेको भएपनि प्रदेश र संघले बिदा दिँदा कर्मचारीलाई हाइसन्चो हुने गरेको छ । फागुनमा मात्रै शनिवारलाई समेत जोड्दा प्रदेशमा ११ दिन त बिदा मात्रै भएको छ । निरन्तर बिदाका कारण नागरिकले सास्ती पाइरहेका छन् ।

बिदा दिनुलाई प्रदेश सरकारले प्रतिष्ठा ठानेपनि यसको असर भने सेवाग्राहीले भाग्ने गरेका छन् । सार्वजनिक अस्पताल बन्द हुन्छन् । अर्थ व्यवस्था नै चलायमान हुन नसक्दा कर्मचारी बाहेक यसको फाइदा कुनै पनि क्षेत्रले उठाउन सक्दैनन् ।

देश आर्थिक संकटको घेरा नजिक पुगिरहेका बेला निरन्तर बिदा दिनु कतिको जायज हो रु सरकारी कर्मचारी त यस्ता बिदाले खुसी नै होलान् । तर, नागरिकले पाउने सास्तीको लेखाजोखा कसले गर्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *