राजनीति

एमालेको मिसन ग्रासरुट : उपाध्यक्ष अनुगमनकर्ता, सचिव फिल्ड कमाण्डर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २ गते २०:३४
एमालेको मिसन ग्रासरुट : उपाध्यक्ष अनुगमनकर्ता, सचिव फिल्ड कमाण्डर (भिडियो रिपोर्टसहित)

२ फागुन २०७९ काठमाडौं । पहिलो शक्ति रहेको एमाले संसदीय निर्वाचनपछि दोस्रो बन्न पुग्यो । आम निर्वाचनपछि नेकपा एमालेले दुई महिने मिसन ग्रासरुट सञ्चालन गर्दै छ ।

संसदको दोस्रो शक्तिका रुपमा रहेको एमाले सत्ता सञ्चालनको नेतृत्वकर्ता भएपनि पार्टी संगठन सक्रिय बन्न नसकेको अवस्थामा यो अभियान सञ्चालन गर्न लागेको हो । पार्टीका उपाध्यक्षलाई मुख्य अनुगमनकर्ता र सचिवलाई फिल्ड कमाण्डर तोकेर सम्बन्धित प्रदेशमा पठाउने योजना केन्द्रीय सचिवालय बैठकले स्वीकृत गरिसकेको छ।

सबैभन्दा बढी संगठित सदस्य रहेको दाबी गर्दै आएको नेकपा एमालेले दुई महिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । पार्टीका करिब १० लाख संगठित सदस्यसहित देशभरका कार्यकर्तालाई पार्टी संगठन निर्माण र विस्तारमा सक्रिय गराउन एमालेले यो अभियान सञ्चालन गर्न लागेको हो ।

मिसन ग्रासरुट अन्तर्गत केन्द्रीय सदस्य स्थानीय तहमा खटिने छन्, उनीहरुलाई दुई महिनाको समय दिइएको छ । उनीहरुले स्थानीय तह अन्तरगत पार्टी कमिटीमा प्रशिक्षण चलाउने छन् । यसको प्रदेश अनुसार फिल्ड कमाण्डर सचिव हुनेछन् भने अनुगमन उपाध्यक्षले गर्नेछन् । किन एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गर्नु पर्यो त ?

सातै प्रदेशमा एकैपटक चैत मसान्तसम्म चल्ने मिसन ग्रासरुट अभियानमा केन्द्रीय पदाधिकारीलाई मुख्य अनुगमनकर्ता र फिल्ड कमाण्डर तोकिएको छ । केन्द्रीय सचिवालयको सोमबारको निर्णयअनुसार समग्र कामको अनुगमन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूलाई प्रदेश तोकेर अनुगमनको जिम्मा दिइएको छ ।

सातजना सचिवलाई सात प्रदेशको फिल्ड कमाण्डर तोकिएको छ । सातै जना उपाध्यक्षले फागुन ५ देखि सम्बन्धित प्रदेशमा हुने केन्द्रीय सदस्यहरूको अभिमुखीकरणको नेतृत्व लिनेछन् भने जिल्ला जिल्लामा अनुगमन पनि गर्ने तय भएको छ । मिसन ग्रासरुट अभियानमा एमालेका संगठित सदस्य र कार्यकर्तासहित समर्थकलाई पनि जोड्ने योजना बनाइएको छ ।

यो अभियानका क्रममा ७७ वटै जिल्लामा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र पुराना कम्युनिष्ट नेताको सम्मान कार्यक्रम राखिने छ । यो अभियान अन्तरगत तल्लो तहमा सदस्यको वास्तविक तथ्याङ संकलन गर्ने एमालेको तयारी छ । पार्टीमा सम्भावना बोकेका नयाँ पुस्तालाई समेत आकर्षण गराउने, तल्ला तहमा पार्टीभित्र देखिएका अन्तरविरोध पहिचान र समाधानका उपाय खोजिने एमालेले जनाएको छ ।

कुन प्रदेशमा को खटिन्छन् ?
प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अनुगमन र सचिव टोपबहादुर रायमाझीले अभियानको फिल्ड कमाण्डरका रुपमा काम गर्ने तय भएको छ । यस्तै मधेसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनुगमन र सचिव रघुवीर महासेठले फिल्ड कमाण्डरका रुपमा काम गर्नुहुनेछ । वागमतीको अनुगमन उपाध्यक्ष सुरेन्द्र पाण्डेले र फिल्डको कमाण्ड सचिव गोकर्ण विष्टले गर्नुहुने छ ।

गण्डकीमा उपाध्यक्ष युवराज ज्ञवालीले अनुगमन र सचिव पद्मा अर्यालले फिल्ड कमाण्ड गर्ने तय भएको छ । लुम्बिनीमा उपाध्यक्ष रामबहादुर थापा बादलको अनुगमनमा सचिव छविलाल विश्वकर्माले फिल्ड कमाण्ड गर्नुहुने छ । कर्णालीमा उपाध्यक्ष सुवास नेम्वाङ अनुगमन र सचिव योगेश भट्टराई फिल्ड कमाण्डर तोकिनुभएको छ भने सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल अनुगमनमा र सचिव लेखराज भट्टलाई फिल्ड कमाण्डर तोकिएको छ । दुई महिने अभियानपछि पार्टीको संगठन अहिलेसम्मकै बलियो हुने एमालेको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्