यातायात मजदुरको बन्दको आंशिक प्रभाव, सिंहदरबारमा वार्ता जारी
२ फागुन २०७९ काठमाडौं । काठमाडौंमा यातायात मजदुरहरुले गरेको सार्वजनिक यातायात बन्दको प्रभाव परेको छ ।
बस, माइक्रो बस र ट्याक्सीहरु निकै कम चलेका छन् । जसका कारण यात्रुलाई गन्तव्यसम्म पुग्न कठिनाइ भएको छ । सार्वजनिक बाहेकका सवारी भने भने निर्वाध चलेका छन् । यातायात बन्दको असर शैक्षिक संस्थाहरुमा पनि परेको छ ।
बन्दमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ संलग्न छन् । ट्राफिक जरिवाना शुल्क घटाउन मागसहित यातायात मजदुरहरु आन्दोलित छन्।
आन्दोलनका कारण हिजो काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त भएको थियो। प्रदर्शनकारीहरुले माछापोखरीमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काएका थिए भने मुल सडकमै रहेको दुईवटा भ्यानमा आगो लगाएका थिए।
उनीहरुले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका थिए। यता सरकारले भने आन्दोलनरत यातायात मजदुर र व्यवसायीलाई वार्तामा बोलाएको छ।अत्यावश्यकीय सार्वजनिक यातायात सेवालाई कुनै अवरोध नगरी वार्ता गर्न र त्यसमार्फत समस्याहरुको समाधन खोज्न अपील गरिएको यातायात व्यबस्था विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिनुभयो।
यसैबीच सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।
ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।
प्रतिक्रिया