Main News

भारतीय विदेश सचिव क्वात्रा किन आए नेपाल ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १ गते २१:१२
भारतीय विदेश सचिव क्वात्रा किन आए नेपाल ? (भिडियो रिपोर्टसहित)

१ फागुन २०७९ काठमाडौं । चीन र भारतको बीचमा नेपाल रहनु एकातिर अवसर हो भने अर्कातिर यो चुनौती पनि हो । शक्ति राष्ट्र अमेरिका र चीनबीचको बढ्दो शीत युद्ध, भारतको उकासिँदो अर्थतन्त्रका बीचमा रहेको नेपालका लागि अवसर र चुनौती दुवै छ ।

त्यसमाथि पछिल्लो समय दक्षिण एसिया विश्वव्यापी शक्ति राजनीतिको केन्द्र बन्दा बाक्लिएको अमेरिकी भ्रमणले त्यसलाई पुष्टि गरेको छ । यहीबीचमा भारतीय विदेशसचिव दुई दिने नेपाल भ्रमणमा आइपुग्नुभएको छ । भ्रमण भूराजनीतिसँग मात्र नभई भारतको खास स्वार्थमासम्म केन्द्रित रहेको बुझिन्छ ।

नेपालमा नयाँ भूमण्डलीकरण, विश्व अर्थव्यवस्था र विश्वव्यापी राजनीतिले समस्या र चुनौती थोपर्ने अवस्था सिर्जना भएको छ । चीन–अमेरिका भू–रणनीतिक प्रतिद्वन्द्वी बढ्दै गएको बेला नेपालमा अमेरिकाबाट उच्चस्तरीय भ्रमणको लहर चलेको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा मात्र नभई अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमा दक्षिण तथा मध्य एसिया ब्युरो हेर्ने उप–सहायकमन्त्री अफ्रिन अख्तर पनि नेपाल आइपुग्नुभएको छ ।

छिमेकी र अमेरिकी मुलुकबाट भएको भ्रमणले भूराजनीतिक आयामलाई अथ्र्याइरहेको छ । यद्यपी, यो भ्रमणलाई भारतले भने नियमित भनेको छ । सोमबार बिहान काठमाडौँ अवतरण गर्नुभएका क्वात्राले समकक्षी भरतराज पौड्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग दुई पक्षीय छलफल गर्नुभएको छ । छलफलमा विद्युत, व्यापार र आर्थिक क्षेत्रमा सहकार्य गर्न बीबीआइएनलाई अघि सारिएको छ ।

द्विपक्षीय बैठकमा सडक र रेलका साथै उर्जा, जल उपयोग, ट्रान्समिसन ग्रीड तथा पर्यटनलाई समेत बीबीआएन नामक उपक्षेत्रीय संगठनबाट जोड्न सकिने बारेमा समेत छलफल भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा कनेक्टिभिटी, व्यापार तथा पारवहन, जलविद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य र जनस्तरको सम्बन्धका क्षेत्रमा जारी सहकार्यको समीक्षा भएको छ ।

सार्कलाई छायाँमा राखेर बिमस्टेक र बीबीआइएनबाट भारत दक्षिण एसियामा आफूलाई थप मजबुत र बलशाली बनाउन चाहन्छ । यद्यपी, यसबाट नेपाललाई भने आर्थिक साझेदारीमा फाइदा भने पक्कै हुनेछ । भदौमा दिल्लीमा भएको सचिवस्तरीय भेटवार्ताकै निरन्तरतामा भ्रमण भएको भनिएपनि नयाँ सरकार गठन भएपछि भारतबाट भएको पहिलो भ्रमणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइएको छ ।

तर, भ्रमणले दक्षिण एसियामा नेपाल र भारतको सम्बन्धलाई प्रष्टयाउँदै चीनलाई चिढाउन भारत चाहन्छ । परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्दै क्वात्राले आर्थिक साझेदारीका बारेमा छलफल गर्नुभएको थियो । छलफलमा नेपाल पक्षले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रूट उपलब्ध गराउन माग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

क्वात्राले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यतालिका छ । मधेश केन्द्रित दलका नेतासँग भेट गर्ने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई शिष्टाचार भेट गरेर स्वदेश फर्कने कार्यतालिका छ । आर्थिक र सामाजिक सम्बन्ध र सहकार्यका विषयमा ध्यान केन्द्रित गर्न खोजेपनि पश्चिमी मुलुकको भ्रमणका बीच भारतबाट क्वात्राको भ्रमणले दक्षिण एसियामा आफ्नो प्रभूत्व रहेको अथ्र्याउनु पनि भारतीय चाहना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *