Main News

प्रेम दिवस नजिकिँदा गुलाब आयातमा प्रतिबन्ध, के भन्छन् व्यवसायी ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २९ गते २१:३१
प्रेम दिवस नजिकिँदा गुलाब आयातमा प्रतिबन्ध, के भन्छन् व्यवसायी ?(भिडियो रिपोर्टसहित)

२९ माघ २०७९ काठमाडौं । सरकारले गुलाफको फूल आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा यसको अभाव छ । भारतसँगको खुला सीमाका कारण अवैध बाटोबाट गुलाफ भित्रिरहेको र मूल्य बढेको व्यवसायीले बताएका छन् ।

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसका अवसरमा गूलाफको फूलको माग अत्यधिक हुन्छ । सामान्य अवस्थामा दैनिक पाँच हजारदेखि सात हजार गोटा गुलाफको फूलको माग हुने गरेकोमा प्रणय दिवसको सप्ताहमा मात्रै तीन लाखको हाराहारीमा माग हुन्छ । तर अहिले भ्यालेन्टाइन डेको पूर्व सन्ध्यामै सरकारले गुलाफको फूल आयातमा रोक लगाएपछि बजारमा पर्याप्त फूल छैन, जसका कारण उपभोक्तालाई बढी मूल्य तिर्नुपर्ने बाध्यता छ ।

नेपालमा चिसो समयमा गुलाफको फूल उत्पादन नहुने भएकाले माघ र फागुनको महिनामा भारतबाट आयात हुँदै आएको छ । यही समयमा सरकारले आयातमा रोक लगायो । जसका कारण अभाव सिर्जना भएको व्यवसायीको गुनासो छ ।

चैत–बैशाखपछि भने माग पनि घट्ने भएकाले गुलाफको फूल आयात गर्न नपर्ने व्यवसायीको भनाइ छ । अहिले रोक लगाएपनि खुला सीमाको फाइदा उठाउँदै अवैध रुपमा गुलाफको फूल भने भित्रिरहेको व्यवसायी बताउँछन् ।

मुलुकमै उत्पादन भएको समयमा आयातमा रोक लगाउनु उचित भएपनि अहिले उत्पादन नहुने समयमा रोक लगाउँदा आफूहरु नै मारमा पर्ने उपभोक्ताको भनाइ छ ।

भ्यालेन्टाइन डेका लागि मात्रै भनेर नेपालमा डेढ करोड रुपैयाँको गुलाफ आयात हुँदै आएको छ । त्यस्तै वार्षिक फूलको कारोबार भने २ अर्ब रुपैयाँ माथि रहेको पुष्प व्यवसायीले जानकारी दिएका छन् । यो पुष्प व्यवसायमा ६ सय हाराहारीमा संलग्न रहेको र ४१ हजारले प्रत्यक्ष अप्रत्यक्ष रोगजार पाएको बताइन्छ ।

नेपालमा पछिल्लो समय व्यवसायी रुपमा पुष्प खेती गर्नेहरुको संख्या बढ्दै गएपनि अझै आत्मनिर्भर भने हुन सकेको छैन् । सरकारको तर्फबाट प्रोत्साहन नभएका कारण पुष्प व्यवसायमा आत्मनिर्भर हुन नसकेको व्यवसायीको दुखेसो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *