Main News

सिद्धान्त र विचारले मात्र अब चल्दैन : मन्त्री किराँती

२०७९ माघ २९ गते १७:५१
सिद्धान्त र विचारले मात्र अब चल्दैन : मन्त्री किराँती

२९ माघ २०७९ काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताउनुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले पर्यटन क्षेत्रका कार्यक्रमलाई तीव्रता प्रदान गर्ने सन्दर्भमा कतिपय विषयमा कानूनी, व्यावहारिकका साथै अन्तर्राष्ट्रिय समस्यासमेत झेल्नु पर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

मन्त्री किराँतीले भन्नुभयो, “मानवीय, भूगोल र प्राविधिक पक्षका आधारमा हवाई जहाज दुर्घटना हुने गरेको अध्ययनले देखिएको छ, मुलुकको आवश्यकताका आधारमा विमानस्थल निर्माण हुनेछन् । सिद्धान्त र विचारले अब चल्दैन, परिणाम आउने गरी काम गरिनुपर्छ भन्ने मान्यता राख्छु ।”

समिति सभापति दिलकुमारी रावलले हवाई दुर्घटना न्यूनीकरण गर्न जाँचबुझ समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्न सुझाव दिनुभयो ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले भैरहवा विमानस्थलको रुटका लागि कूटनीति र प्राविधिकस्तरमा छलफलको तयारी भइरहेको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई दुर्घटना न्यूनीकरण गर्न एक हजार फिटमाथि नै सम्पूर्ण तयारी पूरा गरेर मात्र अवतरण गर्नुपर्छ भन्ने नियम कार्यान्वयनमा गइसकेको बताउनुभयो ।

उहाँले जहाज नयाँ र पुरानोका आधारमा नभई उडानयोग्य र अयोग्यका उडान अनुमति दिने वा नदिने भन्ने प्रश्न उठ्नेबारे समितिलाई जानकारी गराउनुभयो ।

यसअघि समिति सदस्यहरूले पुराना जहाज नकिन्न, जहाजको भाडा दर घटाउन तथा अत्याधुनिक र सुरक्षित जहाजमात्रै खरिद गर्न सुझाव दिनुभयो । पुराना जहाज किनेर नेपाललाई पुरानो प्लेन ल्याण्ड साइट नबनाउन सुझाव दिदै उहाँहरूले तराईबाट त्यस क्षेत्रका पहाडी जिल्लामा उडान भर्ने व्यवस्थाका लागि ध्यानाकर्षण गराउनुभयो ।

सदस्यहरूले जहाज उडाउनअघि विमान चालकको योग्यता र क्षमता परीक्षण गर्न तथा दूरदराजका विमानस्थलमा टिकटमा हुँदै आएको कालोबजारी रोक्न मन्त्रालयका पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

मुलुकमा रहेका ५५ विमानस्थलमध्ये हाल ३० वटा सञ्चालनमा रहेको र १० विमानस्थलले नाफा पनि नकमाएको समितिलाई जानकारी दिइयो । पछिल्लो समय पहाड र हिमाली जिल्लामा समेत सडकको पहुँच विस्तार र जहाजको भाडा महँगो भएकाले विमानस्थलको माग भने घट्दै गएको जानकारी दिइयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *