Main News

राष्ट्रपति निर्वाचनसम्म राजनीतिक समीकरण फेरिने संकेत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २८ गते २१:२९
राष्ट्रपति निर्वाचनसम्म राजनीतिक समीकरण फेरिने संकेत (भिडियो रिपोर्टसहित)

२८ माघ २०७९ काठमाडौं । आम निर्वाचनपछि राष्ट्रपति निर्वाचनको तयारी सुरु भएको छ । चौथो राष्ट्रपतिका लागि तेस्रो व्यक्तिको खोजीमा दलका नेताहरु लागि परेका छन् ।

राष्ट्रपतिको उम्मेदवारबारे छेडिएको बहसले सत्ता समीकरणमै फेरबदल आउने हो कि भन्ने चर्चा सुरु भएको छ । सहमतिका आधारमा राष्ट्रपति आफूले पाउनुपर्ने एमाले अडान कायमै रहँदा माओवादी केन्द्र भने राष्ट्रिय सहमतिको पक्षमा उभिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री मान्न कांग्रेस तयार नबनेपछि पुस १० गते राजनीतिक समीकरण नै बदलियो । कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी लगायतसँग गठजोड गर्दै चुनावमा होमिएको माओवादी केन्द्रले प्रधानमन्त्री नपाउनेभएपछि नयाँ समीकरण बनाउन एमालेसँग सहकार्यको हात अघि बढायो ।

तत्कालै एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने शर्त राख्दै प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्न तयार बन्यो । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । प्रचण्डले विश्वासको मत लिइसकेपछि राष्ट्रपतिको चुनावमा दलीय चलखेल सुरु भएको छ । एमाले पुस १० गते बालकोटमा भएको सहमतिलाई आधार मान्दै राष्ट्रपति आफूले पाउनुपर्ने अडानमा छ ।

राजनीतिक संयन्त्रको शुक्रबारको बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले यही कुरा दोहोर्याउनुभएको थियो । त्यसमा सत्तासाझेदार रास्वपा, राप्रपाले पनि ओलीको बोलीमा लोली मिलाएपछि प्रचण्ड संकटमा पर्नुभयो । उहाँलाई माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयनको म्याण्डेड दिएकोछ ।

शुक्रबारको गर्मागरम बहसपछि साँझ प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवाले वालुवाटारमा भेट गर्नुभयो । भेटमा नयाँ राष्ट्रपतिको विषय केन्द्रित भएको कतै लुकेको छैन । यही निहुमा कांग्रेस र माओवादी नजिक हुने त होइनन् भन्ने एमालेमा शंका सुरु भएको छ । एमाले नेताहरु माओवादीले नयाँ समीकरण बनाउन खोजेको हो भन्दै प्रश्न गर्न थालेका छन् । पुस १० को सहमतिभन्दा बाहिर जान नहुने एमाले अडान छ ।

एमालेको यो शंकामा कांग्रेससँग नजिकिएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाइले पनि बल पुर्याएको छ । कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीच अनौपचारिक छलफलहरु तीव्र बनेका छन् ।

राष्ट्रपतिकै वरिपरि घुमेका यी नेताहरुका छलफल निश्कर्ष नजिक पुगेको हो त रु अध्यक्ष नेपालको राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन्, अहिले संकेतमात्र गर्छु भन्ने अभिव्यक्ति अर्थपूर्ण मानिएको छ ।

शुक्रबार नै पनि एमाले अध्यक्ष ओलीले संसद भवनबाट बाहिरिनेक्रममा राष्ट्रपतिबारे सोधिएको प्रश्नमा हेर्दै जाउँ भन्ने जवाफले सत्ता गठबन्धनमा कुरा विग्रिएको संकेत गर्छ । अझ कांग्रेससँग नजिक ठानिएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई फकाउन ओलीले गरेको प्रयासले सत्ता गठबन्धनमा संकट रहेको अभाष दिन्छ । राजनीतिमा कस्तो खिचडी पाक्दैछ, त्यो हेर्न फागुनको अन्तिम सातासम्म कुर्नैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *