Main News

राष्ट्रपतिको सवारीले सर्वसाधारण मर्कामा, प्रवृत्तिको आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २८ गते २१:२६
राष्ट्रपतिको सवारीले सर्वसाधारण मर्कामा, प्रवृत्तिको आलोचना (भिडियो रिपोर्टसहित)

२८ माघ २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार संसदमा सम्बोधन गर्नुभयो । यो एउटा नियमित प्रक्रिया भएका कारण सम्बोधनको चर्चा सामान्य मात्रै भयो । तर सम्बोधन गर्न जाँदा शितलनिवासदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म राष्ट्रपतिको कारगेडका कारण सर्वसाधरणले पाएको सास्तीको विषय भने सर्वत्र छायो ।

राष्ट्रपतिको सवारीले कयौँ नागरिकले दुःख पाए भने वीर अस्पतालका चिकित्सकमाथि त प्रहरीले हातपात नै गर्‍यो । यो घटनापछि सामाजिक सञ्जालमा सर्वसाधारणलाई हैरानी दिने प्रवृत्तिको आलोचना भएको छ ।

०६२–६३ को जनआन्दोलनले राजतन्त्र विस्थापित गरेको पनि डेढ दशक वितिसक्यो । तर, राजसंस्थाकालीन संस्कारहरु भने अहिले पनि जिवित छन् । जसमध्ये नागरिकले फिटिक्कै मन नपराएको विषय हो, राष्ट्रपतिको सवारी ।

गणतन्त्रको प्रतिक मानिने राष्ट्रपति जब कुनै कार्यक्रममा सहभागि हुने कुरा आउँछ, नागरिकलाई अब दुःख पाइने भइयो भन्ने त्रासले सताइहाल्छ । राष्ट्रपतिको सवारी विगतका राजा महाराजाको भन्दा भिन्न छैन । जसको अभिव्यक्तिका रुपमा पछिल्लो उदाहरण शुक्रबारकै घटना हो ।

अझ सवारीलाई देखाउँदै प्रहरीबाट गरिने अवरोध र हस्तक्षेपले नागरिकमा आक्रोश बढाइरहेको छ । शुक्रबार वीर अस्पताल अगाडि चिकित्सक कुटिएको घटनाले सामाजिक सञ्जालमा राष्ट्रपतिको आलोचना भइरहेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले ट्विटरमा लेख्नुभएको छ, ुराष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो । संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो । संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौं ।ु

त्यस्तै, कवि अर्जुन पराजुलीले राष्ट्रपतिको सवारीकै विषयमा लेखेको कटाक्षपूर्ण कविता अहिले सामाजिक सञ्जलभरि धेरैले पोस्ट गरिरहेका छन् ।
उहाँले लेख्नुभएको छ,
राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने
को हो त्यो डाक्टर ?
राष्ट्रपति सवारी हुने बेलामा
बिरामी हुने
को हो त्यो बिरामी …

राष्ट्रपतिको कारगेडले नागरिकले भोगेको असुविधाले असन्तुष्टि बढ्दो छ । पत्रकार विजयकुमारले आउने राष्ट्रपतिलाई ट्विटरमार्फत् नै सुझाव दिनुभएको छ,

‘राष्ट्राध्यक्ष संसदमा जाँदा ताम,झाम र शानको प्रयोग गर्ने परम्पराको सुरुवात नेपालमा भएको होइन । काठमाडौंमा बढ्दो जनसँख्या, वाहन र नयाँ जनचेतनालाई मधयनजर गर्दै यो सैकडौं वर्ष पुरानो विदेशी परम्परालाई बदल्नु नयाँ राष्ट्रपतिको पहिलो काम मध्ये एक हुनुपर्छ ।ु

राष्ट्रपतिको सवारीमा आम नागरिकले दुःख पाएको यो पहिलो घटना होइन । सामान्य समयमा समेत अत्यधिक ट्राफिक जाम हुने काठमाडौं जस्तो सहरमा राष्ट्रपतिको सवारीका नाममा मुख्य सडक घण्टौँसम्म जाम गर्ने प्रवृत्तिले नागरिक वाक्क दिक्क मात्र होइन पीडित बनेका छन् ।

राष्ट्रपति मालिक र जनता निम्छरो सेवक जस्तो बनेर सडक किनाराको साक्षी बन्ने भए, यो कस्तो गणतन्त्र ? के लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनले यही भयावह विभेदको परिकल्पना गरेको थियो त ?
राष्ट्रप्रमुखलाई गरिने सम्मानमा पक्कै कमी हुनुहुँदैन तर कसैको सम्मान गर्न कसैले सास्ती नै पाउनुपर्ने हो ?

जनतालाई सास्ती दिने यो शैली नियम नै हो भने सच्याउनुपर्छ, परम्परा हो भने बदल्नुपर्छ । नयाँ जनप्रतिनिधि र भावी राष्ट्रपति यो कुरामा सचेत होलान् कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *