राजनीति

राष्ट्रपतिमा बखेडा, कसरी अघि बढ्ला नेपाली राजनीति ? (भिडियो रिपोर्टसहित)

२०७९ माघ २७ गते २१:३६
राष्ट्रपतिमा बखेडा, कसरी अघि बढ्ला नेपाली राजनीति ? (भिडियो रिपोर्टसहित)

२७ माघ २०७९ काठमाडौं । नेपालको संविधानले राष्ट्रपतिको उम्मेदवार हुन गैर दलीय व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छैन । तर नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने गैरदलीय साझा व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुनुपर्ने भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बहस चलाईरहेका छन् । आआफ्ना स्वार्थ पूर्तिका लागि सहमतीय शब्द उच्चारण गरिरहेका नेताहरुले आफैलाई अविश्वास गरेको देखिन्छ ।

नेपाली कांग्रेसका नेताहरु आगामी राष्ट्रपतिमा नेकपा एमालेले उम्मेदवारलाई कुनै हालतमा जिताउन नहुने अडान राख्दै आएका छन् । एमालेले बनाउने उम्मेदवार दलको कठपुतली बन्ने कांग्रेस नेताहरुको ठोकुवा छ । कांग्रेस महामन्त्री गगन थापाको यो भनाइ एक पटक सुनौं ।

एमालेबाट राष्ट्रपति बनाएमा बालुवाटार र शीतल निवास गरी दुई शक्ति केन्द्र बन्ने र शीतल निवासले पनि समानान्तर शक्तिको अभ्यास गर्ने कांग्रेस नेताहरुलाई डर छ । राष्ट्रपतिमा उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेस सकेसम्म आफ्नै उम्मेदवारमा सहमति हुनु पर्ने नभए दलबाहिरबाट आए पनि स्वीकार्य हुने तर एमालेले पाउन नहुने उसको जोड छ । एमालेलाई जसरी पनि रोक्न दलबाहिरको उम्मेदवार स्वीकार्ने कांग्रेसको योजना छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित नागरिकता विधयेक प्रमाणीकरण नगर्नु, तत्कालीन एमाले नेतृत्वको सरकारले सिफारिस गरेको संसद विघटन पारित गर्नु जस्ता केही कदमबाट कांग्रेस सशंकित भए जस्तै आफूले गरेको सेनापति हटाउने निर्णय तत्कालीन राष्ट्रपति रामवरण यादवले रोकिदिएपछि पद गुमाउनु परेको तोड अहिले पनि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झिरहनु भएको छ ।

र त प्रचण्ड अहिले पनि राष्ट्रपतिमा सहमति हुनु पर्ने अडानमा हुनुहुन्छ । दलभित्र वा दलबाहिरबाटै आउने उम्मेदवारमा भए पनि सहमति हुनु पर्ने प्रचण्डको मत छ । सार्वजनिक कार्यक्रममा मात्रै हैन, पार्टी बैठकहरुमा पनि प्रचण्डले यो मत राखिरहनु भएको छ । स्थायी समितिको बैठकको निर्णयबारे ब्याख्या गर्दै प्रचण्डले बिहीबारको केन्द्रीय समिति बैठकमा दलीय राष्ट्रपति हुँदा परेको अप्ठ्यारोबारे लामै गुनासो गर्नुभएको थियो ।

तर नेकपा एमाले भने आफूले उठाएको उम्मेदवार नै राष्ट्रपति हुने दाबी गर्छ । दलबाहिरबाट राष्ट्रपति हुने उसले कल्पना पनि गरेको छैन ।

दलहरु दलीय कि गैरदलीय व्यक्ति राष्ट्रपति बनाउने भन्ने विवादमा अल्झिरहँदा नेपालको संविधानले भने दल भित्र वा बाहिरबाट जहाँबाट पनि योग्यता पुगेको व्यक्ति राष्ट्रपति हुन सक्ने स्पष्ट व्यवस्था गरेको छ । संविधानको धारा २९६ को उपधारा १ मा बंशजको नागरिकता भएको, ४५ वर्ष उमेर पुगेको, लाभको पदमा नभएको र नेपालको संघीय कानूनले अयोग्य नभएको र मतदाता नामावलीमा नाम भएको जो सुकै व्यक्ति राष्ट्रपति हुन सक्ने व्यवस्था गरेको छ । योग्यता पुगेको व्यक्तिले राष्ट्रपतिको उम्मेदवारी दिन पाउने र संघ र प्रदेशका सांसदले मतदान गरि बिजयी गराउन सक्ने व्यवस्था छ ।

संविधानको धारा ६१ मा राष्ट्रपतिका प्रमुख काम, कर्तव्य र अधिकारको उल्लेख गरिएको छ । जसमा राष्ट्रपतिको प्रमुख काममा संविधानको संरक्षक र पालन गर्नु रहेको छ । राष्ट्रपति आलांकारिक राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नु प्रमुख दायित्व हो । तर पहिलो राष्ट्रपति रामवरण यादव र हालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको कार्यकर्ताको भूमिका भन्दा माथि उठ्न नसकेको आरोप नलागेको होइन । राष्ट्रपति भण्डारीका केही निर्णयका कारण अहिले कांग्रेस, माओवादी लगायतका दलहरु दलीय राष्ट्रपतिबाट बढी सशंकित देखिएका हुन सक्छन् । ठिक विपरित राष्ट्रपतिलाई निर्वाचित गर्ने व्यक्तिहरु भने दलीय हुने तर उम्मेदवार चाँहि बाहिरबाट ल्याउनुपर्ने तर्क गरिरहँदा दलले आफैंले आफूलाई अविश्वास गरेको ठहरिएन र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्