Main News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

हिमालय टिभी
२०७९ माघ २६ गते ८:५९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

२६ माघ २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

यसअघि हिजै विश्वासको मत लिने भनिएपनि विश्वासको मत नपाउने स्थिति देखिएपछि प्रदेशसभा बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री रावलले आज विश्वासको मत नलिए उहाँको पद स्वत खारेज हुनेछ ।

उहाँ गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार रावलसँग आज प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने वा राजीनामा दिने दुई विकल्प मात्रै बाँकी छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यस्तो मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्रीले विश्वासको मत नपाए ठूलो दलको हैसियले काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुहुनेछ ।

आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइ सुनिश्चित नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *